कैलालीको धनगढी-बौनियाँ-तल्लापानी बस सेवा सुरु गरिएको छ । बौनियाँ बजार व्यवस्थापन समितिको समन्वयमा रिभर साइड यातायात प्रा.ली.ले बिहीबारबाट बस सञ्चालन गरेको हो ।

धनगढीबाट छुटेको बस दिउँसो ४ बजे बौनियाँ हुँदै तल्लापानी-चैताराका लागी जाने र चौताराबाट बिहान साढे ८ बजे धनगढीका लागि छुट्ने गरि रुट निर्धारण गरिएको छ । बौनियाँ देखि तल्लापानीका लागि सय र चौताराका लागि १ सय ३० भाडा दर कायम गरिएको रिभर साइड यातायातले जनाएको छ ।
यही रुटमा १२ वर्ष अघि पनि बस सेवा सञ्चालन गरिएको थियो । तत्कालीन बौनिया बजार व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर कुँवरको नेतृत्वमा सुदूरपश्चिम यातायात प्रा.ली.ले बस सेवा सञ्चालन गरेको थियो । तर सडकको अवस्था राम्रो नभएका कारण केही समय पछि बस सेवा बन्द भएको थियो । हाल सेती लोकमार्ग सडक निर्माण भएकाले बस सेवाले निरन्तरता पाउने विश्वास गरिएको छ ।

बस सेवा नहुँदा मोहन्यालको तल्लापानी, चायाभावर, बडिकाथाई, चौतारा सँगै चुरे पारीका बस्तीलाई पैदल यात्रा गर्नु पर्ने बाध्यता थियो ।

