
कैलाली जिल्ला कारागारमा जघन्य अपराधदेखि ठगीसम्मका घटनामा संलग्न ५६ महिला रहेका छन् । कर्तव्य ज्यानदेखि ठगीसम्मकै अपराधमा महिला संलग्न रहेको पाइएको छ । जेलभित्र रहेका महिलामध्ये लागूऔषध कारोबार, ओसारपसार, कर्तव्य ज्यान र बैङ्किङ कसुरमा दोषी ठहर भएकाको सङ्ख्या सबैभन्दा बढी रहेको जिल्ला कारागार कैलालीका जेलर दीपक पाण्डेले बताए । २ जना बालक समेत छन् ।


सबैभन्दा बढी लागूऔषध त्यसपछि बैङ्किङ कसुर र कर्तव्य ज्यानमा दोषी ठहर भएका महिलाको सङ्ख्या धेरै रहेको छ । जघन्य अपराध हत्यामा संलग्न महिला समेत अदालतबाट दोषी ठहर भएर जेलजीवन बिताइरहेका छन् । उसो त हाल कारागारभित्र ५ सय ५७ जना कैदीबन्दी छन् । पछिल्लो समय अपराधका घटना बढ्दै गएपछि जिल्ला कारागार कैलाली कैदीबन्दीले भरिन पुगेको छ । विशेष गरी लागूऔषध, जबरजस्ती करणी, हत्या, चोरी, कुटपिट, बैङ्किङ कसुर लगायतका अपराधमा दोषी ठहर भएकाहरू कैदी बन्दी जीवन बिताइरहेका छन् । १ सय ५० जना क्षमताको जीर्ण कारागारभित्र अहिले ५ सय ५७ कैदी बन्दी राखिएको छन् ।
गत आर्थिक वर्ष २०८०/८१ सम्मको तथ्याङ्क अनुसार जिल्ला कारागारमा ५ सय ५७ जम्मा कैदीहरू रहेकोमा १ सय ७७ जना लागूऔषधसँग सम्बन्धित मुद्दाका छन् ।

कैलाली जिल्ला अदालतमा गत आर्थिक वर्षमा ५ सय ३९ मुद्दा लागूऔषधसँग सम्बन्धीका दर्ता भएका थिए । सो अवधिसम्म जिल्ला अदालतले ४ सय ३१ मुद्दाको अन्तिम सुनुवाइ गरेको छ । १ सय ८ मुद्दाको अन्तिम सुनुवाइ हुन बाँकी छ । कैलाली जिल्ला अदालतले कैद भुक्तानीका लागि पठाएका १ सय ४० कैदी हाल जिल्ला कारागारमा छन् । थप ३७ जना थुनुवा रहेका छन् । उनीहरूलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ ।


