कैलाली भन्सार कार्यालयका तत्कालीन प्रमुख राजेन्द्रकुमार हमालले ४ सय ६५ प्याकेट सुर्ती तस्करी गर्ने कर्मचारीको पुनर्बहाली गरेका छन् ।
प्रमुख भन्सार अधिकृत हमालको भने विभागमा सरुवा भइसकेको छ । तर, उनले कैलाली भन्सार कार्यालयमै हुँदा सुर्ती तस्करीको आरोपमा निलम्बनमा परेका कर्मचारीहरूको पुनर्बहाली गरेको विषय बाहिर आएको हो । उनले सुर्ती तस्करीमा १ लाख २ हजारका दरले धरौटी रकम जग्गा गरेका नृप भण्डारी र गोपाल चौधरीको पुनर्बहाली गरेका हुन् ।
कर्मचारीबाट तस्करीको सामान खरिद गर्ने व्यापारी विशाल गुप्तालाई समेत १ लाख २ हजार धरौटीमा छोडिएको छ । तस्करी रोक्ने निकाय आफै तस्करीमा लागेको विषय गत असार १६ गते सार्वजनिक भएको थियोे । राजस्व चुहावट र भन्सार छली रोक्न सक्रिय हुनुपर्ने निकाय आफै तस्करीमा संलग्न रहेको विषय प्रमुख भन्सार अधिकृत हमालले लुकाउदै आएका थिए ।
२०८१ असार १५ गते भन्सार कार्यालयमा कपडाभित्र लुकाएर सुर्ती तथा बिडी तस्करी भएको तथ्य फेला परेको थियो । कैलाली भन्सारले लिलाम गरेका कपडाभित्र सुर्तीजन्य पदार्थ फेला परेपछि भन्सार कार्यालयका कर्मचारीबाटै तस्करी हुने गरेको तथ्य बाहिर आएको थियो । तर, भन्सार कार्यालयका तत्कालीन प्रमुख हमालले सो विषयमा कुनै प्रतिक्रिया दिन मानेका छैनन् । उनले सो विषयमा प्रतिकृया नदिने बताए ।
यता, भन्सार स्रोतले करार सेवाका कर्मचारीहरू नृप भण्डारी, गोपाल चौधरी र व्यापारी विशाल गुप्तालाई सो घटनामा धरौटी रकम तिराइएको बताएको छ। दुई कर्मचारी र एक व्यापारीले तीन लाख ६ हजार धरौटी रकम तिरेका छन् । कार्यालय प्रमुखको निर्देशनमा कार्यालय सहयोगीहरूले सुर्ती तस्करी गरेकाले उनीहरूको पुनर्बहाली गरेको हुन सक्ने भन्सार स्रोतले बताएको छ ।
तर, कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिमिल्सेनाले यो विषयमा कुनै जानकारी नभएको दाबी गरेका छन् । उनी सोमवार मात्र सुदूरपश्चिमको आर्थिक मामिला मन्त्रालयबाट कैलाली भन्सार कार्यालयमा हाजिर भएका हुन् ।
सबै प्रशासनिक कार्यहरू बन्द रहेका बेला २०८१ असार १५ गते शनिवार सुर्तीजन्य पदार्थ भन्सारका कर्मचारीहरूले तस्करी गरेका थिए ।
उनीहरूले धनगढीकै एउटा व्यापारीको फर्मको नाममा ४ लाख ४० हजारमा लत्ताकपडा लिलामी सदर गरेका थिए । व्यापारीको फर्मको नाममा ८ वटा मुद्दाका छुट्टा–छुट्टै सामानको लिलामी सदर भएको थियो । सदर भएका सामानमा सुट, कुर्ती, खेलौना, भाडा, उलन सर्ट लगायतका सामान थिए ।
व्यापारीले दुईवटा अटोमा सामान लोड गरेर लग्दै गर्दा कैलाली भन्सार कार्यालयको एक सय मिटर उत्तरतर्फ रहेको सशस्त्र प्रहरीले कपडाभित्र लुकाएर सुर्तीजन्य पदार्थ तस्करी भएको तथ्य फेला पारेको थियो । जाँच टोलीले उक्त कपडाभित्र सुर्तीजन्य पदार्थ फेला पारेपछि भन्सार कार्यालयबाट तस्करी हुने गरेको विषय सार्वजनिक भएको थियो ।
अटोमा लोड गरिएका कपडाभित्र सुपरपावर सुर्ती २ सय पाकेट, २ सय ६५ पाकेट बिडी र सुइट सुपारी लुकाइएको थियो । सशस्त्र प्रहरीले कपडाभित्र लुकाएर लैजान लागेको अवस्थामा बरामद गरिएको सुर्तीजन्य पदार्थको वजार मूल्य करिब ६० हजार छ । भन्सार कार्यालयले लिलाम गरेको कपडाभित्र सुर्तीजन्य पदार्थ फेला परेको विषयमा कैलाली भन्सार कार्यालयका तत्कालीन प्रमुख हमालले सुरुदेखि नै कुनै प्रतिक्रिया दिन मानेका थिएनन् । हमालको भने विभागमा सरुवा भइसकेको छ ।


