
बागलुङ : बागलुङमा आर्थिक वर्ष २०८०–८१ मा कृषि ज्ञान केन्द्रले ‘खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत २ हजार ७ सय ६३ रोपनी जग्गामा आलु खेती विस्तार गरेको छ ।


केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुने गरी आलु खेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रम अन्तर्गत ३ करोड ६० लाख बजेटबाट आलुखेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ ।
आलुको उत्पादन बढाउन यान्त्रिकीकरण, बीउ, मलदेखि उत्पादनका आधारमा अनुदान दिने गरी यस वर्ष केन्द्रको बजेट आलु प्रवर्द्धन कार्यक्रममा केन्द्रित गरेर २ हजार ७ सय ६३ रोपनीमा आलु उत्पादन गरी बजारीकरण गरिएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिए ।

कृषकलाई उन्नत जातको आलुको बीउ र खेती गर्ने प्रविधि हस्तान्तरण सिकाइएको छ । सहकारीमार्फत कृषि उपजको उत्पादन गर्दै आएकामा आलु प्रवर्द्धन कार्यक्रमले सहकारीलाई राहत मिलेको जैमिनी नगरपालिका–४ सर्कुवास्थित साना किसान कृषि सहकारीका अध्यक्ष प्रभाकर पौडेलले बताए ।

अदुवा र बेसारखेतीलाई प्रोत्साहन गर्दै आएको सहकारीले चालु आवमा खायन आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गत ३५ रोपनी जग्गामा आलुखेती गरेको बताए। उनले चार मेट्रिक टन आलु उत्पादन गरेर सहकारीमार्फत बेचिएको जानकारी दिए ।

बागलुङ आलु उत्पादनका लागि उर्वर जिल्ला मानिन्छ। विशेषगरी ढोरपाटन, तमानखोला गाउँपालिका, गलकोट नगरपालिका निसीखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा अधिक आलु उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।
