काठमाण्डौ : नेकपा एमालेका अध्यक्ष केपी ओली चौथो पटक नेपालकोे प्रधानमन्त्रीमा नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ उपधारा २ बमोजिम नेपालको प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
शुक्रबार प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट विश्वासको मत गुमाएसँगै नयाँ प्रधानमन्त्रीमा अध्यक्ष ओलीले दाबी पेश गरेका थिए । उनले १६६ सांसदसहित दाबी पेस गरेका थिए । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त प्रस्तावमा पेश भएका उनलाई राष्ट्रपतिले नियुक्त गरेका हुन् । उनको सपथ भने सोमबार बिहान ११ बजे हुने भएको छ।
राष्ट्रपति कार्यालयले सोमबार बिहान ११ बजे शीतलनिवासमा प्रधानमन्त्रीको शपथ ग्रहण कार्यक्रमको आयोजना गरेको छ । राष्ट्रपति कार्यालयले शपथ ग्रहण समारोहमा सबै सांसदहरूलाई साढे १० बजेभित्रै शीतलनिवास पुग्न आग्रह गर्दै संसद् सचिवालयलाई पत्र पठाएको छ।


