सुखड : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले भारतीय टोलीको नयाँ मुख्य प्रशिक्षकमा पूर्व खेलाडी गौतम गम्भीरलाई नियुक्त गरेको छ ।
यस अघि भारतीय टोलीको मुख्य प्रशिक्षक राहुल द्रविड रहेका थिए । द्रविडको कार्यकाल टी २० विश्वकप २०२४ सँगै सकिएको थियो । विश्वकप भन्दा अगाडि उनको कार्यकाल समाप्त भएको भएपनि बिसिसिआईले उनलाई टी२० विश्वकप सम्मका लागि राखेको थियो । बिसिसिआईले नयाँ मुख्य प्रशिक्षकका लागि मे १३ मा आवेदन खुला गरेको थियो । त्यस बिचमा भारतीय सञ्चार माध्यमदेखि सामाजिक सञ्जालहरूमा समेत गौतम गम्भीरको निकै चर्चा चुलिएको थियो । अन्ततः बिसिसिआईले पनि आज गम्भीरलाई नै भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरेको छ ।
उनी गत संस्करणको इण्डियन प्रिमिएर लिग आईपीएलमा कोलकाता नाइट राइडर्समा मेन्टरिङ रहेका थिए । उक्त संस्करणको उपाधि पनि कोलकाताले नै हात पारेको थियो ।
गम्भीरले आफ्नो जिम्मेवारी यही जुलाई २७ देखि श्रीलङ्कासँग भारतले खेल्न लागेको ३ ओटा टी २० र ३ ओटा एकदिवसीय श्रृङ्खलाबाट सुरु गर्ने बिसिसिआईले जनाएको छ ।
क्रिकेट जीवनबाट खेलाडीको रुपमा सन्न्यास लिनु अघि गम्भिर भारतीय टोलीका लागि एक महत्वपूर्ण खेलाडी थिए । तीनै गम्भीरले सन् २००७ मा पहिलो संस्करणको टी २० विश्वकपको उपाधि भारतलाई दिलाउन महत्वपूर्ण योगदान गरेका थिए । उनले उपाधि भिडन्तमा पाकिस्तान विरुद्ध ७५ रनको सानदार पारी खेलेका थिए । त्यस्तै सन् २०११ मा भएको एकदिवसीय विश्वकप जित्दा पनि उनले नै टोलीमा महत्वपूर्ण पारी खेलेका थिए । उक्त उपाधि भिडन्तमा गम्भीरले श्रीलङ्का विरुद्ध ९७ रनको पारी खेल्दै टोलीलाई जितसम्म डो¥याएका थिए ।
बिसिसिआईका सचिव जय शाहले गम्भीरलाई मुख्य प्रशिक्षकको रुपमा स्वगत गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् ।
बिसिसिआईका अनुसार टोलीको मुख्य प्रशिक्षकको रूपमा गम्भीरले भारतीय क्रिकेट टोलीको विकास र प्रदर्शनको निरीक्षणको लागि जिम्मेवार हुने तथा आफ्नो फोकस उत्कृष्टता, अनुशासन र टोली कार्यको संस्कृतिको विकासमा हुनुका साथै युवा प्रतिभालाई पोषण गर्ने र विश्वव्यापी मञ्चमा भविष्यका चुनौतीहरूको लागि टोलीलाई तयार गर्ने बताएका छन् ।
राहुल द्रविड पनि एक सफल प्रशिक्षकको रुपमा परिचित छन् । उनको कार्यकालमा भारतले टी२० विश्वकप २०२४ को उपाधि हात पार्नुका साथै २०२३ को एकदिवसीय विश्वकपमा उपविजेता तथा टेष्ट च्याम्पियनसिप २०२३ मा पनि उपविजेता भएको थियो । उनले पनि नयाँ युवा खेलाडीलाई धेरै अघि बढाएका थिए ।


