
कैलाली : कैलाली जिल्लाको जानकी गाउँपालिका र गाउँपालिकामातहतका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुले नौ महिनादेखिको तलब पाएका छैनन् । गाउँपालिका, चारवटा स्वास्थ्य चौकी, पाँचवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र एउटा सामुदायिक स्वास्थ्य इकाइमा विभिन्न तहमा कार्यरत ४७ जना स्वास्थ्यकर्मीले गत कार्तिकयता तलब पाएका छैनन् ।


लामो समयसम्म तलब नपाउँदा घर खर्च चलाउन निकै समस्या भोग्नु परिरहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए । उनले ऋण सापटी गरेर घर खर्च चलाइ रहेको बताए । ‘तलब नपाउँदा निकै समस्यामा छौँ, घर खर्च चलाउन र बालबालिकाको स्कुलको शुल्क तिर्न ऋण लिनुपरेको छ,’ उनले भने, ‘आर्थिक वर्ष सकिन लागि सक्यो, तलब कहिले आउने हो थाहा छैन ।’
गाउँपालिकाअन्तर्गत २७ जना स्वास्थ्यकर्मीको दरबन्दी भए पनि विभिन्न ठाउँबाट समायोजन र मिलान गरी आएका ४७ जना स्थायी स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । दरबन्दीमा कार्यरतको तलबका लागि सुरुमा आएको बजेट बाँडेर लिएको र त्यसपछि थप बजेट नआएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै गोदावरी नगरपालिका र नगरपालिकाअन्तर्गतका स्वास्थ्य संस्थामा कार्यरत १ सय एक जना कर्मचारीले पनि आठ महिनादेखि तलब पाएका छैनन् । पहिलो चौमासिकमा दरबन्दीमा कार्यरत कर्मचारीको तलबका लागि आएको बजेट बाँडेर लिए पनि त्यसपछि तलब नआएको नगरपालिकाका स्वास्थ्य अधिकृत नवराज अवस्थीले जानकारी दिए ।

५२ जना स्वास्थ्यकर्मीको दरबन्दी रहेको नगरपालिकामा ४९ जना फाजिलमा रहेका अवस्थीले जानकारी दिए । स्वास्थ्यका सबै कर्मचारीको तलब बापतको करिब ३ करोड रुपैयाँ बजेट नआएको उनले बताए । आठ महिनादेखि तलबविनै काम गर्दा आर्थिक समस्या भइरहेको उनको गुनासो छ । ‘दरबन्दीमै कार्यरत कर्मचारीको समेत तलब आएको छैन,’ स्वास्थ्य अधिकृत अवस्थीले भने, ‘केही दिनमा आउला कि !’

कैलारी गाउँपालिकामा पनि जेठदेखिको स्वास्थ्यकर्मीको तलब नआएको प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रराज जोशीले बताए ।

स्थानीय तहका जनप्रतिनिधिको अघिल्लो कार्यकालमा स्थानीय तहको सहमति लिएर काजसरुवा गरी आएका स्वास्थ्यका कर्मचारीले सुगमका पालिकामा दरबन्दीभन्दा बढी कर्मचारी छन् । काज सरुवाले सुगमका पालिकामा दरबन्दीभन्दा बढी स्वास्थ्यकर्मी भएपछि स्वास्थ्य मन्त्रालयले गत वर्ष काजका कर्मचारीलाई दरबन्दी भएको ठाउँमा फर्कन निर्देशन दिएको थियो । तर, पछि मन्त्रालयले यथावस्थामै काम गर्न पुनः परिपत्र गरे पनि तलब भने दरबन्दी भएको ठाउँमा पठाउने गरेको कर्मचारी बताउँछन् ।

त्यसै गरि जिल्लाकै जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले स्वास्थ्यका कर्मचारीको तलब निकासाका लागि मन्त्रालयमा चार पटक पत्राचार गरे पनि नआएको जानकारी दिए । केन्द्रबाट सहमति लिएर आएकाले गाउँपालिकामा दरबन्दीभन्दा बढी कर्मचारी रहेको बताए । नौ महिनादेखि तलब नपाएको भन्दै जानकी गाउँपालिकामा कार्यरत स्वास्थ्यर्कीले बिहीबार कालोपट्टी बाँधेर गाउँपालिकामा धर्ना दिएका छन् ।