कैलालीको बर्दगोरिया र घोडाघोडीमा विवाहमा झडप हुँदा तीन जना घाइते भएका छन् । झडपबाट प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
बर्दगोरिया गाउँपालिका-६ का केशब नेपालीको छोरी डम्मराको विवाहमा प्रवेश गरेर कुर्सी तोडफोड गर्ने सुशील बम र घोडाघोडी नगरपालिका-३ का २२ वर्षीय प्रमोद परियारमाथि कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरु कुटपिटबाट घाइते भएका छन् ।
बमलाई थप उपचारका लागि कोहलपुर पठाइएको छ । उनको साथबाट चक्कु बरामद गरिएको प्रहरीले जनाएको छ । उनीसँगै विवाहमा लफडा गर्ने दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए । उनका अनुसार पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका-६ बस्ने २२ वर्षीय विशाल जोशी र लम्कीचुहा नगरपालिका-१० बस्ने २२ वर्षीय दिनेश खत्री रहेका छन् ।
यस्तै घोडाघोडी पनि विवाहमा लफडा भएको छ । घोडाघोडी नगरपालिका-७ का ओमबहादुर चिमलाको छोराको विवाहमा रमाउने क्रममा १५ वर्षीय किशोरमाथि कुटपिट गरिएको प्रहरीले जनाएको छ । उनको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
कुटपिटको आरोपमा घोडघोडी नगरपालिका-७ का २३ वर्षीय आकाश बिक, २९ वर्षीय मोहन बम, २२ वर्षीय तारेशु बोहरा र २७ वर्षीय दुर्गा पक्राउ परेका छन् ।