
कैलालीको धनगढी उपमहानगरले बिचल्लीमा पारेको सुकुम्वासी बस्तीमा पत्रकार वीरेन्द्र रावलले राहत वितरण गरेका छन् । उनले बिचल्लीमा परेका १० परिवारलाई चामल, चाउचाउ, भुजा लगायतका सामाग्री बाडेका हुन ।


“यो बर्खाको बेला कुनै विकल्प बिनै सुकुम्वासी बस्तीमा डोजर चलाउने कार्य अत्यन्त निन्दनीय छ । राज्यले आफ्ना नागरिक प्रति यस्तो व्यवहार गर्नु हुँदैन थियो । राज्यले त नागरिकको जिउ धनको सुरक्षा पो गर्ने हो त । उल्टै घरबाट विहीन बनाउने ?” उनले भने ।
“अभाव र गरिबीमा रहेको यो बस्तीमा मैले सामान्य सहयोग गरेको हुँ । यसले सबै पुग्छ भन्ने होइन यो देखेर सहयोगी हातहरू बढ्छन् कि भन्ने हो । अर्को कुरा मानवता बिर्सनेहरुलाई मानवता सिकाउने साङ्केतिक प्रयास पनि हो ।” उनले थपे ।


विगत २२/२५ वर्ष देखि नगर विकासको जमिनमा बस्दै आएका सुकुम्वासीका बस्तीमा नगरपालिकाले असार ९ गते डोजर चलाएको थियो । दैनिक मजदुरी गरि खाने बस्तीका नागरिकलाई सरकारले विकल्प नै नदिई बिचल्ली बनाएपछि उनीहरू नागरिकको अधिकारीबाट समेत वञ्चित भएका छन् ।


