
कैलालीको बर्दगोरिया गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गरेको छ । पालिकाले आइतबार १४ औँ गाउँ सभा अधिवेशन मार्फत उपाध्यक्ष गणेशराज गिरीले ८० करोड १ लाखको अनुमानित बजेट सार्वजनिक गरे ।
कुल बजेट मध्ये ३३ करोड ७६ लाख ११ हजार चालुतर्फ, २२ करोड ९६ लाख ५० हजार पुँजीगत तर्फ विनियोजन गरिएको छ । यस्तै २३ करोड ८१ लाख १९ हजार सामाजिक सुरक्षातर्फ विनियोजन गरिएको बजेट वक्तव्यमा भनिएको छ । पालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागी ३ करोड ३६ लाख ६० हजार आन्तरिक आय अनुमान गरेको छ । यस्तै राजस्व बाँडफाँडबाट १२ करोड २२ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण (सङ्घीय सरकार) बाट ३७ करोड २३ लाख ८१ हजार र अन्तर सरकार वित्तीय हस्तान्तरण (प्रदेश सरकार) बाट २ करोड ८० लाख २० हजार प्राप्त हुने उपाध्यक्ष गिरीद्वारा प्रस्तुत बजेट वक्तव्यमा उल्लेख छ । पालिकाको मौज्दात (आ.ल्या.) रकम २ करोड छ भने सामाजिक सुरक्षातर्फ २३ करोड ८१ लाख १९ हजार पालिकालाई प्राप्त हुने अनुमान गरिएको छ ।
नयाँ आर्थिक वर्षमा पालिकाले सबै भन्दा बढी बजेट सामाजिक विकास तर्फ विनियोजन गरेको छ भने सबै भन्दा कम बजेट सुशासन तर्फ विनियोजन गरेको छ । कुल बजेटको ४९ दशमलव ९८ प्रतिशत अर्थात् २७ करोड सामाजिक विकासतर्फ, कुल बजेटको २७ दशमलव ३७ प्रतिशत अर्थात् १५ करोड ५० लाख कार्यालय सञ्चालन तथा प्रशासनिक विनियोजन गरेको छ भने कुल बजेटको २१ दशमलव ३७ प्रतिशत अर्थात् १२ करोड १२ लाख ६१ हजार पूर्वाधार विकास तर्फ विनियोजन गरिएको छ । यस्तै आर्थिक विकास तर्फ २ दशमलव ६४ प्रतिशत अर्थात् १ करोड ५० लाख र सुशासन तथा अन्तर सम्बन्धित तर्फ १ दशमलव ०६ प्रतिशत अर्थात् ६० लाख रुपैयाँ विनियोजन भएको छ ।






प्रकाशित :- २०८१ असार ९, गते आईतवार