कैलालीको घोडाघोडी नगरपालिकाभित्रका केही संस्थागत (निजी) विद्यालयहरूले कक्षा ९ को औपचारिक कोर्स नपढाइ, एसईई (SEE) केन्द्रित रूपमा सिधै कक्षा १० को किताब पढाउँदै आएको पाइएको छ। शैक्षिक मापदण्डको खुला उल्लङ्घन गर्दै ती विद्यालयहरूले विद्यालय नतिजा कृत्रिम रूपमा उत्कृष्ट देखाएर विद्यार्थी तथा अभिभावक आकर्षित गर्ने व्यापारिक रणनीति अपनाएको खुलासा भएको हो।
नगरपालिकाको वडा नम्बर १० मा रहेका ज्ञानज्योति विद्यामन्दिर, सेकेन्डरी स्कुल, कलम बम मेमोरियल, र पाइनियर्स एकेडेमी जस्ता विद्यालयहरू यस्तो गतिविधिमा संलग्न रहेको पाइएको छ। तीमध्ये कलम्ब मेमोरियल स्कुलले त कक्षा ९ मा शतप्रतिशत (१००%) कक्षा १० कै कोर्स पढाएको पाइएको छ।
त्यस्तै, ज्ञानज्योति विद्यामन्दिरले नेपाली विषय बाहेक अरू सबै विषयमा कक्षा १० को किताब पढाएको देखिएको छ। पाइनियर्स एकेडेमीले पनि ऐच्छिक प्रथम विषयमा कक्षा १० को पाठ्यपुस्तक प्रयोग गर्दै आएको पाइएको छ।
शिक्षा नियमावलीअनुसार कक्षा ९ र १० को पाठ्यक्रम छुट्टाछुट्टै तय गरिएको छ, जसलाई पालना नगर्नु विद्यार्थीको मौलिक शैक्षिक अधिकारमाथिको ठाडो उल्लङ्घन हो भन्ने शिक्षाविद्हरूको धारणा छ।
यस विषयमा निर्भीक पोस्ट सँग प्रतिक्रिया दिँदै शिक्षा विकास तथा समन्वय इकाई, धनगढीका शाखा अधिकृत प्रतापसिंह धामीले यस्तो कार्य गम्भीर शिक्षाप्रति हेलचेक्र्याइँ भएको बताएका छन्।
उनले भने, “यो पूर्ण रूपमा कानुनविपरीत गतिविधि हो। यसले विद्यार्थीहरूमा भ्रम र असन्तुलन ल्याउँछ, शिक्षा व्यापारको विषय होइन। यस्तो कार्यले गर्दा सम्बन्धित स्थानीय तहले छानबिन गरेर कारबाही गर्नुपर्छ। आवश्यक परेमा विद्यालयको लाइसेन्ससमेत खारेज गर्न सकिने कानुनी प्रावधान छ।”
धामीका अनुसार, यस्तो अभ्यासले शैक्षिक गम्भीरता कमजोर बनाउँछ र दीर्घकालीन रूपमा विद्यार्थीको क्षमतामै प्रतिकूल असर पार्न सक्छ।
अभिभावक र शिक्षा अभियन्ताहरूले ती विद्यालयहरूमाथि तत्काल निगरानी र आवश्यक कारबाहीको माग गरेका छन्।



