सशस्त्र प्रहरी बल बेस क्याम्प बौनियाँको नेतृत्व फेरिएको छ । क्याम्पको नेतृत्व सम्हाल्न सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रेम सागर विष्ट आएका छन् भने नेतृत्वमा रहेका सत्यम पुरी काठमाडौँ सरुवा भएका छन् ।
यसै बिच बर्दगोरिया गाउँपालिकाले नव आगन्तुक डिएसपी विष्टको स्वागत तथा पुरीको बिदाइ गरेको छ । गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी नायब उपरीक्षक पुरीले गाउँपालिकाको सहयोगले कार्य सम्पादन तथा व्यवस्थापनमा निकै सहज भएको बताए । “सुदूरपश्चिममा पहिलो पटक आएको थिए । यत्तिको सहयोग मिल्ला जस्तो लागेको थिएन । तर आज मलाई जानै मन लागेको छैन । यो सबै यहाँहरूको माया हो । सबैको सहयोगले मेरो कार्यकालमा कुनै सुरक्षा चुनौती पनि आएन ।” उनले भने ।
बर्दगोरिया गाउँपालिकाको निकै चर्चा सुनेको बताउँदै नव आगन्तुक डिएसपी विष्टले यस क्षेत्रको सुरक्षा व्यवस्थापनमा जोड दिने बताए । “म पनि सुदूरपश्चिममा पहिलो पटक आएको छु । यहाँका मानिस र नेतृत्वको सहयोगको खुब चर्चा सुनेको छु । यहाँहरूले सहयोगले सुरक्षा व्यवस्थापन बलियो बन्ने छ ।” उनले भने
कार्यक्रममा बोल्दै पालिका अध्यक्ष कुँवरले डिएसपी पुरीको सक्रियता र सहकार्यको चर्चा गरे । “उहाँको सक्रियताले हाम्रो क्षेत्रमा सुरक्षा व्यवस्थापन निकै राम्रो रह्यो । नयाँ डिएसपी ज्युबाट पनि हामीलाई उहाँको जस्तै सक्रियता र सहकार्यको अपेक्षा छ । सबै सुरक्षा निकायका लागी हाम्रो सहयोग निरन्तर रहने छ ।” अध्यक्ष कुँवरले भने ।


