कैलालीमा थ्रेसरमा दाेपट्टा बेरिँदा एक महिला गम्भीर घाइते भएकी छन् ।
बर्दगोरिया गाउँपालिका–४ नौनियामा गहुँ थ्रेसर गर्ने क्रममा एक महिला गम्भीर घाइते भएकी छन् ।
शनिबार राति करिब ९ बजे स्थानीय खुशीराम डगौराकी श्रीमती अन्दाजी ५५ वर्षीया रेखा डगौरा आफ्नै खेतबारीमा गहुँ थ्रेसर गरिरहेकी थिइन्।
सोही क्रममा उनको घाँटीमा रहेको दोपट्टा थ्रेसरमा बेरिन पुग्दा मेसिनको ब्लेडले अनुहारमा काटेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ।
घाइते डगौरालाई तत्काल उनका श्रीमानले उपचारका लागि धनगढीस्थित नवजीवन अस्पताल लगेको र त्यहाँ उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
राति करिब ११ बजे नवजीवन अस्पतालमा कार्यरत प्रहरी सहायक हवल्दार विक्रम चन्दले टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय सडकपुरलाई घटनाबारे जानकारी गराएका थिए।
घटनास्थल इलाका प्रहरी कार्यालय सडकपुरबाट करिब ४ किलोमिटर पश्चिम–उत्तर दिशामा पर्ने प्रहरीले जनाएको छ।


