घोडाघोडी नगरपालिकाले नगरवासीलाई राहत दिने उद्देश्यले निःशुल्क शववाहन सेवा सञ्चालनमा ल्याएको छ। शव व्यवस्थापनका क्रममा सवारी साधन अभावले भोग्नुपरेको झन्झट हटाउन यो सेवा सुरु गरिएको हो।
नगर प्रमुख खडक बहादुर रावतले दुःखको घडीमा पनि नागरिकले थप सास्ती नपाओस् भन्ने सोचका साथ यो निर्णय गरिएको बताए। उनका अनुसार विगतमा शव आर्यघाटसम्म लैजान गाडीको अभाव हुँदा परिवारजनले अनावश्यक दुःख र खर्च व्यहोर्नुपरेको अवस्था थियो, जसलाई अन्त्य गर्न नगरपालिका अघि बढेको हो।
नगरपालिकाले करिब २८ लाख ८९ हजार रुपैयाँ खर्चेर आधुनिक शववाहन खरिद गरेको जनाएको छ। शव सुरक्षित राख्न मिल्ने आवश्यक उपकरणसहितको उक्त सवारीले सेवा थप व्यवस्थित र मर्यादित बनाउने अपेक्षा गरिएको छ।
यस सेवा सुरु भएसँगै अब नगर क्षेत्रभित्रका परिवारले शव व्यवस्थापनका लागि अतिरिक्त खर्च गर्नुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ। सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति तथा व्यवस्थापनसमेत मिलाइएको नगरपालिकाले जनाएको छ।
यसअघि स्थानीयवासीले शववाहन नपाउँदा अन्य पालिकासम्म धाउनुपर्ने अवस्था थियो। अहिले भने आफ्नै नगरपालिकाबाट सेवा उपलब्ध भएपछि स्थानीयहरू खुसी भएका छन् र यसलाई मानवीय तथा सराहनीय कदमका रूपमा लिएका छन्।


