कैलालीको खक्रौला नाकामा भारतबाट नेपालतर्फ ल्याइरहेको सामान बरामद गरेको विषय विवादीत बनेपछि सशस्त्र प्रहरीमाथि कारवाही प्रक्रिया अघि बढाइएको छ ।
मंगलबार साँझ टीकापुरको एसजीए ट्रेड एण्ड सप्लायर्सले भारतबाट जीएसटी बिलसहित ल्याइएको सामान सशस्त्र प्रहरीको बीओपी खक्रौलाले बरामद गरेको थियो । बिल बिजक भएकै सामान बरामद गरेर अवैध बनाएर नाकामा बीओपी प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रदीप पौडेलले ज्यादती गरेको भन्दै व्यवसायी आक्रोशित भएका थिए ।
टीकापुर उद्योग वाणिज्य संघसहितका व्यवसायीले उक्त कदमको विरोध गरेपछि सशस्त्र प्रहरीको बीओपी खक्रौलाले सम्बन्धीत व्यवसायीलाई बरामद गरिएका सामान फिर्ता गरेको छ । उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सिनाले सीमा क्षेत्रमा व्यवसायीलाई सशस्त्र प्रहरीले अनावश्यक दुःख र हैरान दिन थालेको बताउदै अहिलेको घटना त्यसैको परिणाम भएको बताए ।
‘अवैध रुपमा हुने चोरी, तस्करी रोक्नुुपर्ने दायित्व स्थानीय प्रशासनको हो । त्यो कार्यमा हामी व्यवसायीले पनि सहयोग गरेकै छौँ,’ तिमिल्सिनाले भने, ‘तर खक्रौलामा सशस्त्रले बिल बिजक भएकै सामान पनि अवैध भनेर बरामद गर्दै दुःख दिन थाल्यो । यो कार्यको विरोध गछौँ ।’
उनले मंगलबार समेत सोही खालको कार्य दोहोरिएपछि बीओपीमै पुगेर डीएसपी प्रदीप पौडेलको ध्यानाकर्षण गराएपछि बिल बिजक भएको सामान सम्बन्धीत व्यवसायीले फिर्ता पाएको बताए । यसअघि समेत भारतबाट जीएसटी बिलसहित ल्याइएको सामान अवैध भन्दै बरामद गरेर सशस्त्र दुःख दिने गरेको व्यवसायीको गुनासो रहेको छ ।
यो विषयलाई लिएर बुुधबार बीओपी पुगेको एक समूहले डीएसपी प्रदीप पौडेलमाथि लछारपछार गरेको भिडियो समेत सार्वजनिक भएको छ । घटनाको छानविन गर्न सशस्त्र प्रहरी बल नेपाल नं.७ वैद्यनाथ बाहिनीले समिति गठन गरेको छ ।
बाहिनीमा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक(एसपी) अनिल कार्कीको संयोजकत्वमा ३ सदस्यीय छानवीन समिति गठन गरिएको वैद्यनाथ बाहिनीका निमित्त प्रमुुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिगविजय सुवेदीले बताए ।
सुवेदीले समितिलाई खक्रौला बीओपी घटनाबारे छानविन गरेर प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको बताए । उनकाअनुसार बीओपीमा कार्यरत सशस्त्र प्रहरीमाथि कारवाही गर्ने प्रक्रिया समेत अगाडि बढिसकेको छ ।
एसएसपीको निर्देशन, एसपीको अटेरी !
सामान बरामद गरेको विषय विवादमा परेपछि वैद्यनाथ बाहिनीका निमित्त प्रमुुख सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिगविजय सुवेदीले बीओपी खक्रौलामा कार्यरत डीएसपी बाहेकका सबैलाई गणमा तान्न निर्देशन दिएका छन् ।
स्रोतकाअनुसार एसएसपी सुवेदीले बुधबार नै डीएसपी प्रदीप पौडेल बाहेक बीओपीमा कार्यरत ३३ जना सशस्त्र प्रहरीलाई धनगढीस्थित गणमा तानेर नयाँ टिम पठाउन निर्देशन दिएका थिए । तर, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण धनगढीले भने उक्त निर्देशन अहिलेसम्म गरेको छैन ।
गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) खुमबहादुर केसीले भने अहिलेसम्म कसैलाई पनि गणमा नझिकाइएको बताउदै सबै जना बीओपी खक्रौलामै रहेको बताए । बीओपीमा कार्यरतलाई गणमा तान्ने नतान्ने विषयमा भने छानविन पछि मात्र निर्णय लिइने उनी बताउँछन् ।
‘त्यहाँ घटना भएको छ । अहिले छानविन चलिरहेकाले कसैलाई पनि गण झिकाइएको छैन,’ एसपी केसीले भने, ‘छानविनपछि मात्र के गर्ने ? भन्ने निर्णय हुन्छ ।’
तर, बाहिनीले भने डीएसपीबारे हेटक्वाटरले निर्णय लिने र अन्य सशस्त्र प्रहरी कर्मचारीलाई गणमा तानेर कारवाही प्रक्रिया थालिने जनाएको छ ।प्रेस पत्रबाट


