घोडाघोडी नगरपालिका–१ सुखडस्थित न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलको ३१औँ वार्षिकोत्सव तथा अभिभावक भेला शुक्रवार विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी प्रस्तुत गर्नुका साथै विभिन्न सांस्कृतिक नृत्य तथा प्रस्तुतिमार्फत अभिभावकको मन जितेका थिए। कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सृजनशीलता र आत्मविश्वास झल्किने विविध गतिविधिहरू प्रस्तुत गरिएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा घोडाघोडी नगरपालिकाका प्रमुख खडक रावतले न्यु स्टार इङ्ग्लिस बोर्डिङ स्कुलले संस्कारसहितको गुणस्तरीय तथा जीवन उपयोगी सीपमूलक शिक्षा प्रदान गर्दै आएको शैक्षिक अभ्यासको खुलेर प्रशंसा गरे। उनले यस्तो किसिमको शिक्षाले भविष्यमा सक्षम नागरिक निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा शैक्षिक अभियन्ता क्षेत्र प्रसाद ज्ञवालीले बालबालिकालाई केवल किताबी ज्ञान मात्रै नभई संस्कारयुक्त शिक्षा आवश्यक रहेको उल्लेख गर्दै पछिल्लो समय विद्यार्थी र अभिभावक दुवैमा बढ्दो मोबाइल तथा प्रविधि उपकरणको अत्यधिक प्रयोगले सिर्जना गरिरहेको नकारात्मक प्रभावका विषयमा मोटिभेसनल प्रस्तुति दिए।
यस्तै कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी रमेशदत्त अवस्थीले न्यु स्टारले बालबालिकामा बढ्दै गएको लागुऔषध दुर्व्यसन तथा सामाजिक समस्याबारे सचेतना फैलाउने कार्यक्रम सञ्चालन गरेर सामाजिक उत्तरदायित्व निर्वाह गरिरहेको भन्दै प्रशंसा गरे।
कार्यक्रममा संस्थागत विद्यालय घोडाघोडी क्लस्टरका कोषाध्यक्ष युवराज बमले पनि न्यु स्टार विद्यालयले शिक्षाको क्षेत्रमा गरिरहेको नवीन प्रयास र रचनात्मक गतिविधि सराहनीय रहेको बताए।
वार्षिकोत्सवको अवसरमा अभिभावकहरूका लागि फास्ट इटिङ प्रतियोगिता तथा मुखले बेलुन फुटाउने प्रतियोगिता आयोजना गरिएको थियो। उक्त प्रतियोगितामा अभिभावकहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने अभिभावकलाई नगद पुरस्कारसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।
३१ वर्ष लामो इतिहास बोकेको विद्यालयले सुरुवाती चरणदेखि हालसम्म योगदान दिएका पूर्व शिक्षकहरूलाई दोसल्ला ओढाएर सम्मान गरेको थियो े। साथै २०८१ सालको एसइई परीक्षामा ३।६ भन्दा माथि जिपिए ल्याउने विद्यार्थीहरूलाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिएको थियो।

विद्यालयले स्थानीय कला–संस्कृतिको संरक्षणमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई पनि सम्मान गरेको छ। स्थानीय संस्कार झल्किने भजन–कीर्तन तथा वाद्यवादनमार्फत कला क्षेत्रमा योगदान पु¥याएका टिकाराम अधिकारी र नृत्य क्षेत्रमा योगदान दिएका नृत्य निर्देशक प्रलव बुढाथोकीलाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रमका अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल परशुराम भण्डारी (पिआर)ले विद्यालय स्थापना गर्दाको उद्देश्य सम्झिँदै “न्यु स्टार केवल परीक्षा पास गराउने विद्यालय होइन, संस्कार, अनुशासन र जीवन उपयोगी सीप सिकाउने शैक्षिक परिवार रहेको भन्दै आगामी दिनमा पनि विद्यार्थीलाई नैतिकता, राष्ट्रियता र व्यवहारिक शिक्षासँग जोड्दै अगाडि बढ्ने लक्ष्य रहको बताए । उनले विद्यालयलाई यहाँसम्म ल्याउन अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको साथ र विश्वास नै सबैभन्दा ठुलो शक्ति भएको उल्लेख गरे।
वार्षिकोत्सवकै अवसर पारेर संस्थापक प्रिन्सिपल भण्डारीले पत्रकार प्रकाश मिश्र र विद्यालयका प्रशासन प्रमुख जीवन शर्मा ढकाललाई स्वीट सेयर प्रदान गरे।

कार्यक्रम शिक्षक अभिभावक संघका अध्यक्ष रमा पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको संचालन पत्रकार प्रकाश मिश्रले गरेका थिए ।



