कैलालीको त्रिनगर भन्सार नाकामा प्रहरीको मिलेमतोमा तस्करी मौलाएको आरोप लागेको छ। स्थानीयले प्रहरी चौकी त्रिनगरका प्रहरीहरूले हप्ता असुली गर्दै तस्करीलाई प्रश्रय दिएको दाबी गरेका छन्।
भारतबाट साइकलमार्फत सामान ल्याउने धनगढी र अत्तरियाका महिलाहरू तथा भारतीय मालबाहक ट्रकबाट दैनिक र मासिक रूपमा रकम असुल्ने गरिएको आरोप छ। हप्ता नदिए सामान जफत गरेर कारबाहीका लागि भन्सार बुझाउने गरिएको बताइन्छ।
सीमामा खटिने सशस्त्र प्रहरीमाथि पनि मिलेमतोको आरोप लगाइएको छ। विशेष गरी चुनावको समयमा सीमा नाकाबाट सामान ओसारपसार बढेको स्थानीयको भनाइ छ।
स्रोतका अनुसार प्रहरी चौकी त्रिनगरका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) रमेशबहादुर शाहीले माथिल्लो निकायलाई बुझाउनुपर्ने भन्दै रकम असुल्ने गरेका छन्। असुलीका लागि उनले आफ्ना विश्वासपात्र वरिष्ठ हवल्दार धर्म महरालाई खटाउने गरेको बताइन्छ।
तस्करीमा संलग्न महिलाहरूबाट प्रतिव्यक्ति ५ सयदेखि २ हजार रुपैयाँसम्म असुली हुने गरेको दाबी छ। त्यसैगरी, सो क्षेत्रमा अनैतिक गतिविधि गराउने केही होटलहरूबाट पनि हप्ता असुल्ने गरिएको आरोप छ।
असुली गरेको रकम शाहीले प्रदेश प्रहरी कार्याालयसम्मै बुझाउने गरेको चर्चा छ । यसअघि प्रदेशमै कार्यरत शाही डीआईजीको पावरमा त्रिनगर चौकी इन्चार्ज भएका थिए ।
यता, सई शाहीले भने सीमा नाकामा कडाइ गरिएको बताउँदै चोरी, तस्करी र असुलीका आरोप निराधार रहेको प्रतिक्रिया दिएका छन्।
यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले भने छानबिन गरिने जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले आरोपबारे आवश्यक अनुसन्धान गरिने बताएका छन्।
असुली गरेको रकम शाहीले प्रदेश प्रहरी कार्याालयसम्मै बुझाउने गरेको चर्चा छ । यसअघि प्रदेशमै कार्यरत शाही डीआईजीको पावरमा त्रिनगर चौकी इन्चार्ज भएका थिए ।


