
हिलो संस्करणको जय ट्रफी मेन्स एलिट कपमा विभागीय टोली त्रिभुवन आर्मी क्लब मधेश प्रदेशलाई पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको छ ।


जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको पाँचौ खेलमा मधेशलाई आर्मीले ८ विकेटले पराजित गरेको हो । पहिलो इनिङमा आर्मी भन्दा १ सय रनले पछि परेसँगै मधेश फलोअनमा परेको थियो । मधेश पहिलो इनिङमा १ सय २३ रनले पछि पर्दै फलोअनमा परेको थियो ।
फलोअनमा परेर लगत्तै दोस्रो इनिङको ब्याटिङ गरेको मधेशले १ सय ५० रनमा सबै विकेट गुमाएको थियो । मधेशका लागि मयन यादवले सर्वाधिक ४९ रन जोडे । कप्तान हरिशंकर शाह २५, अभिषेक तिवारी १९, निरज यादव १७ तथा हिमाशुं दत्त ११ रनमा आउट भए ।

आर्मीका लागि बसिर अहमदले ४, साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए ।

मधेशले दोस्रो इनिङमा आर्मीसँग २७ रनको अग्रता लिएको थियो । मधेशले २७ रनको अग्रता लिएसँगै जितका लागि आर्मीले २८ रनको लक्ष्य पाएको थियो । २८ रनको लक्ष्य आर्मीले २ विकेट गुमाएर पूरा गर्यो ।

आर्मीको जितमा तृतराज दासले १३, इम्रान शेखले अविजित ८ तथा बसिर अहमदले अविजित ४ रन जोडे ।

मधेशका लागि प्रदिप पासवानले २ विकेट नै आफ्नो नाम गरे ।

पहिलो इनिङमा मधेश १ सय २ रनमा सबै विकेट गुमाउँदै १ सय २३ रनले पछि परेको थियो । मधेशका लागि कप्तान हरिशंकर शाह ३१, अभिषेक तिवारी १३, मयन यादव ११ र प्रदिप पासवान १० रनमा आउट भए ।
आर्मीका लागि साहब आलमले १२ ओभरमा ३७ रन खर्चिएर ६ विकेट लिए । पवन कार्की, बसिर अहमद, आकाश चन्द र सोमपाल कामीको नाममा समान १ विकेट रह्यो ।
त्यसअघि शनिवार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आर्मीले ५९ ओभर ३ बलमा २ सय २५ रन बनाउँदा ९ विकेट गुमाएको स्थितीमा इनिङ समाप्तिको घोषणा गरेको थियो ।
आर्मीका लागि बसिर अहमदले सर्वाधिक ६७ रन जोडेका थिए । उनले ९८ बलको सामना गर्दै ९ चौका प्रहार गरेका थिए । छैठौं विकेटका लागि बसिरले भीम सार्कीसँग मिलेर १ सय २ रनको साझेदारी गरेका थिए ।
भीमले ९३ बलमा ६ चौकाको सहयोगमा ५२ रन जोडेका थिए । ओपनर इम्रान शेखले ७५ बलमा ४२ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । मधेशका लागि रञ्जित कुमारले ५, प्रदिप पासवानले २ तथा कप्तान हरिशंकर शाह र अभिषेक तिवारीले समान १ विकेट लिए ।
जितका साथ आर्मीले फाइनलमा स्थान बनाएकाे छ । पहिलो र दोस्रो खेल बराबरी खेलेको आर्मी तेस्रो जितका साथ शीर्ष २ मा पर्ने पक्का भइसकेको छ । शीर्ष २ टाेलीले फाइनल खेल्ने प्रतियाेगिताकाे नियम रहेकाे छ ।
जय ट्रफी मेन्स एलिट कपको फाइनलमा स्थान बनाउने दाेस्राे टोली भने जनकपुरमा जारी पुलिस र बागमतीको खेल पश्चात थाहा हुनेछ । पराजित मधेशले २ खेलमा हार तथा १ मा बराबरी साथ तालिकाको पुछारमा रहेर प्रतियोगिता सकेको छ ।