कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको शान्ति सामुदायिक वनले आफ्ना उपभोक्ताहरूको आयआर्जन बढाउन बाख्रा वितरण गरेको छ । अति विपन्न अवस्थाका उपभोक्ता छनौट गरी गत सोमबार २० जनालाई प्रति व्यक्ति एउटा बाख्रा वितरण गरिएको वनका अध्यक्ष मनीराम डगौराले जानकारी दिए ।

“हामीले सामाजिक उत्तरदायित्व तर्फ पनि काम गर्नु पर्छ भन्ने ठानेर यस पटक उपभोक्ताहरूलाई बाख्रा वितरण गरेका हौ । यो कार्यक्रम आवश्यकताको आधारमा अर्को वर्ष पनि सञ्चालन गर्ने मनसायमा हामी छौ । काम गर्ने इच्छाशक्ति हुनेका लागी बाख्राबाट राम्रै आम्दानी हुनेछ ।” अध्यक्ष डगौराले भने ।
सामुदायिक वनबाट बाख्रा पाएपछि उपभोक्ताहरू खुसी भएका छन् । आफ्नो जीवनकालमै सामुदायिक वनले नयाँ र महत्त्वपूर्ण काम गरेको भन्दै उनीहरूले धन्यवाद दिए । बाख्रालाई राम्रो सँग पालन पोषण गरी आम्दानीको श्रोत बनाउने योजनामा लाभान्वितहरू छन् ।
“सामुदायिक वनले वितरण गरिएका बाख्राहरूको नियमित अनुगमन समेत गर्नेछ । सरकारले दिएका बाख्रालाई खासै महत्त्व नदिने, काटेर खाइदिने, बेचिदिने जस्ता क्रियाकलापहरू पनि हुने गरेका छन् तर हामी त्यसो हुन दिँदैनौ । समय समयमा हामी उनीहरूको खोरमै गएर हर्ने, बुझ्ने गर्छौ। हामीले गरेको काम प्रभावकारी होस भन्ने हाम्रो सोचाई हो ।” वनका सहसचिव मदन ढुंगानाले भने ।



