काठमाडौं । फागुन १० गते चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको पोस्टमार्टमबाट पुष्टि भएको छ ।
त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा बलात्कार वा यौनजन्य अपराधका कुनै सङ्केत नभेटिएको अस्पताल स्रोतले बताएको छ ।
फागुन १० मा शालिन विद्यालयको छात्रावासको कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । तत्पश्चात उनको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको थियो । तर, परिवारले अस्पतालको विश्वास नभएको भन्दै दवाव दिएर शव त्यहाँबाट निकाली प्रहरीको रोहबरमा काठमाडौं लगिएको थियो ।
तर, आज त्रिवि अस्पतालले पोस्टमार्टम रिपोर्ट प्रहरीलाई पठाएको स्रोतले जनाएको छ । रिपोर्टमा मृत्यूको कारण ह्याङ्गिङ (झुण्डिएर) भनिएको छ । यसको मतलब त्यो हत्या नभई आत्महत्यातर्फ सङ्केत गरेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले पनि हत्या नभई आत्महत्या भएको देखाएको छ ।
यद्यपि, सामाजिक सञ्जालमा बलात्कार र हत्या भन्दै प्रचारप्रसार भएपछि प्रहरी दबाबमा परेको थियो । तर आज अस्पतालले पोस्टमार्टमको रिपोर्ट मार्फत पुनः आत्महत्या नै भएको दाबी गरेको छ ।