न्यू स्टार इङ्लिस बोडिङ्ग स्कुलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सहाराघर बौनियालाई आर्थिक तथा खाद्यान्न सहयोग प्रदान गरेको छ। बिहीबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रममार्फत विद्यालयले उक्त सहयोग हस्तान्तरण गरेको हो।
कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडमा अवस्थित न्यू स्टार इङ्लिस बोर्डिङ स्कुलले विद्यार्थीको शैक्षिक गतिविधिसँगै विभिन्न सामाजिक तथा व्यावहारिक सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विद्यार्थीहरूलाई पढाइसँगै सामाजिक जिम्मेवारीप्रति सचेत बनाउने उद्देश्यले विद्यालयले समय–समयमा यस्ता कार्यक्रम गर्दै आएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यालयका तर्फबाट फाउन्डर परशुराम भण्डारी (पीआर) ले सहाराघर बौनियाका सञ्चालक बलबहादुर बिष्ट लाई नगद तथा खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन्।
यस अवसरमा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूबाट संकलित नगद २० हजार रुपैयाँसहित दाल, चामल, नुनलगायतका खाद्यान्न सामग्री सहाराघर बौनियालाई प्रदान गरिएको थियो। सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
विद्यालय प्रशासनले यस्ता सामाजिक कार्यले विद्यार्थीहरूमा सहयोग, सहानुभूति, मानवीय भावना तथा सामाजिक उत्तरदायित्वको विकास हुने विश्वास व्यक्त गरेको छ। आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने विद्यालयले प्रतिबद्धता जनाएको छ।


