समाचार सारांश
- • विद्यालयमा अध्ययनरत १४ जना छात्र र १४ जना छात्रा गरी २८ जना विद्यार्थी दीक्षित हुन योग्य भएपछि बिहीबार विद्यालयमा एक कार्यक्रमका बिच दीक्षित भएका हुन् ।
घोडाघोडी नगरपालिका–१ बेलारमा रहेको श्री छडी माध्यमिक विद्यालयका २८ जना विद्यार्थी पहिलो पटक नेपाल स्काउटद्वारा दीक्षित भएका छन् । विद्यालयमा अध्ययनरत १४ जना छात्र र १४ जना छात्रा गरी २८ जना विद्यार्थी दीक्षित हुन योग्य भएपछि बिहीबार विद्यालयमा एक कार्यक्रमका बिच दीक्षित भएका हुन् ।
विद्यालयका प्रधानाध्यापक छवि सापकोटाको अध्यक्षता तथा घोडाघोडी नगरपालिकाका नगर प्रमुख तथा नगरका स्काउट संरक्षक खडक बहादुर रावतको प्रमुख आतिथ्यतामा स्काउट दीक्षान्त समारोह सम्पन्न भएको हो । स्काउट मास्टर कविता सिंहका अनुसार २८ जना विद्यार्थीहरू दीक्षित भएका छन् । उनका अनुसार विभिन्न चरणमा गरी तालिममा सहभागी भई दीक्षित हुन योग्य भएपछि उनीहरूलाई दीक्षित गराइएको हो ।
कार्यक्रमका प्रमुख अतिथि रावतले स्काउट एक अनुशासित, मर्यादित र चरित्रवान् व्यक्ति उत्पादन गर्ने सामाजिक संस्था भएकोले सबै दीक्षित विद्यार्थी मर्यादित भएर लाग्न अनुरोध गरे । उनले नेपालको प्रजातन्त्रको उदयपछि देशभर शैक्षिक जागरणका निम्ति स्काउटको स्थापना भएको र त्यस मार्फत जागरणका अभियानले प्रभावकारी काम गरेको समेत बताए । उनले घोडाघोडी नगरपालिकाका स्काउट दलमा आबद्ध शिक्षकहरूले स्काउट क्रियाकलापमा गरेका कामको प्रशंसा गर्दै स्काउट क्रियाकलापको लागि नगर सरकार उत्तिकै जिम्मेवार रहेको बताए ।
विद्यालयका स्काउट संरक्षक तथा प्रधानाध्यापक छवि सापकोटाले स्काउटिङले शैक्षिक गतिविधि मार्फत विधार्थीहरूलाई देशभक्त र वफादार बनाउँदै लैजाने बताए ।
कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता घनश्याम ओझा, नेपाल स्काउट सुदूरपश्चिम प्रदेश सदस्यता वृद्धि आयुत्त भीमराज अम्मै, नगर प्रमुख आयुक्त खगुदेवी बोहरा, नेपाल स्काउट कैलालीका पूर्व तालिम आयुक्त शिवप्रसाद ढकाल, नगर स्काउट परिषद सदस्य सराधुराम चौधरी, स्काउट मास्टर कविता सिंह, निर्भीक पोष्टका पत्रकार खेम ढुङ्गाना लगायतको सहभागिता रहेको थियो ।
छात्रतर्फको दीक्षा नेपाल स्काउट सुदूरपश्चिम प्रदेश सदस्यता वृद्धि आयुक्त श्री भीमराज अम्मैले र छात्रातर्फको दीक्षा नेपाल स्काउट घोडाघोडी स्काउट प्रमुख आयुक्त श्री खगुदेवी बोहराले प्रदान गरेका थिए।
कार्यक्रममा कैलाली जिल्लामा स्काउटिङको विकासमा विशेष योगदान पु¥याएका पूर्व तालिम आयुक्त शिवप्रसाद ढकाललाई विशेष सम्मान गरिएको थियो । साथै स्काउटिङ् शिक्षा प्रवर्द्धनमा योगदान पु¥याएको भन्दै भीमराज अम्मै, शिक्षकहरू लालबहादुर धामी र लक्ष्मी थापा तथा स्वयम् सेवकीय योगदानका लागि कान्ति ओपन स्काउट क्र्युलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा स्काउट गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने छडी स्काउट दलका पेट्रोल सदस्यहरूलाई पुरस्कार वितरण गरिएको थियो ।



