समाचार सारांश
- • संस्थागत विद्यालयहरूले नियमानुसार छात्रवृत्ति प्रदान गरे/नगरेको जानकारी लिन पालिकाले मङ्गलवार एक सूचना जारी गर्दै ५ दिन भित्र सबै विवरण उपलब्ध गराउन भनेको छ ।
- • संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ को दफा ६.१ मा संस्थागत विद्यालयहरूले प्रत्येक कक्षामा प्रथम र द्धित्तिय हुने विद्यार्थीहरूलाई शतप्रतिशत र पचास प्रतिशत मिनाहा र दफा ६.२ मा संस्थागत विद्यालयहरूले कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत नघटाई छात्रवृत्ति उपलब्ध गराउनु पर्ने कानुनी व्यवस्था छ ।
- • बर्दगोरियामा विभिन्न तहका २० वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् ।
कैलालीको बर्दगोरिया गाउँपालिकाले संस्थागत विद्यालयहरूले प्रदान गर्दै आएको छात्रवृत्ति विवरण माग गरेको छ । संस्थागत विद्यालयहरूले नियमानुसार छात्रवृत्ति प्रदान गरे/नगरेको जानकारी लिन पालिकाले मङ्गलवार एक सूचना जारी गर्दै ५ दिन भित्र सबै विवरण उपलब्ध गराउन भनेको छ ।
संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ को दफा ६.१ र ६.२ बमोजिम छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरूको नामनामेशी विवरण ५ दिन भित्र कार्यालयमा पेस गर्न अनुरोध छ । सूचनामा भनिएको छ ।
संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिका २०६९ को दफा ६.१ मा संस्थागत विद्यालयहरूले प्रत्येक कक्षामा प्रथम र द्धित्तिय हुने विद्यार्थीहरूलाई शतप्रतिशत र पचास प्रतिशत मिनाहा गरी जेहनदार छात्रवृत्ति उपलब्ध गराउनु पर्ने व्यवस्था छ । यस्तै निर्देशिकाको दफा ६.२ मा संस्थागत विद्यालयहरूले कुल विद्यार्थी सङ्ख्याको कम्तीमा १० प्रतिशत नघटाई जेहनदार, विपन्न, असहाय तथा गरिब, दलित, द्धन्द पीडित र सहिद परिवारका विद्यार्थीहरू छात्रवृत्ति उपलब्ध गराउनु पर्ने कानुनी व्यवस्था छ ।
पालिकाले माग गरेको विवरणमा छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको विवरण सहित विद्यालयमा अध्ययनरत कुल विद्यार्थी सङ्ख्या, वार्षिक शुल्क, भर्ना शुल्क, यातायात शुल्क, परीक्षा शुल्क, शैक्षिक सामग्री शुल्क लगायतका विवरणहरू समेत माग गरेको छ । बर्दगोरियामा विभिन्न तहका २० वटा संस्थागत विद्यालय सञ्चालनमा रहेका छन् ।



