समाचार सारांश
- • कालोपत्रे बनाउन २०७८ सालमा सम्झौता भएका कैलालीको घोडाघोडी नगरपालिकामा ५ वटा सडक वर्षौँ देखी अलपत्र छन् ।
- • वडा नम्बर १ को सुखड–लठुवा सडक, वडा नम्बर ५ को डोके बजार–सरैया सडक, वडा नम्बर ४ को सिमथरी–माघी सडक, वडा नम्बर १० को वन डिभिजन–थेबे सडक र वडा नम्बर ५ को डोके बजार–रामशिखरझाला सडक अलपत्र परेका हुन ।
- • यी सडकहरू निर्माणका लागी श्री केएस टेडी मणि लेक जोइन्ट भेन्चर धनगढीले २०७८ माघ २३ गते ठेक्का सम्झौता गरेको थियो ।
कालोपत्रे बनाउन २०७८ सालमा सम्झौता भएका कैलालीको घोडाघोडी नगरपालिकामा ५ वटा सडक वर्षौँ देखी अलपत्र छन् । वडा नम्बर १ को सुखड–लठुवा सडक, वडा नम्बर ५ को डोके बजार–सरैया सडक, वडा नम्बर ४ को सिमथरी–माघी सडक, वडा नम्बर १० को वन डिभिजन–थेबे सडक र वडा नम्बर ५ को डोके बजार–रामशिखरझाला सडक अलपत्र परेका हुन ।
यी सडकहरू निर्माणका लागी श्री केएस टेडी मणि लेक जोइन्ट भेन्चर धनगढीले २०७८ माघ २३ गते ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले वडा नम्बर ५ को डोके बजार–रामशिखरझाला सडक कालोपत्रेका लागि भौतिक पूर्वाधार विकास कार्यालय धनगढी सँग सम्झौता गरेको छ भने अन्य ४ सडक निर्माणका लागी घोडाघोडी नगरपालिका सँग सम्झौता गरेको छ ।

सडकहरू निर्माणका लागि सम्झौताको ४ वर्ष सम्म निर्माण कम्पनीले माखो मारेको छैन भने शक्तिशाली ठेकेदारका अघि नगर सरकार समेत निरीह जस्तै देखिएको छ । नगर सरकारले नत समयमै काम गराउन सकेको छ, नत काम नगर्ने ठेकेदारलाई कारबाही नै गर्न सकेको छ । सरकारको निरीहता र ठेकेदारको बेवास्ताले स्थानीयले आवतजावतमा निकै सास्ती भोग्नु परेको छ ।
“सडकको कुरा गरी साध्यै छैन । २/३ वटा अटो पल्टिसके, गहिरो खाडल छन् । हामीले बारम्बार नगरपालिकालाई आग्रह गरे पनि कुनै वास्ता गरेको छैन । ठेकेदारले माथि धेरै ग्राभेल स्टक गरेको छ त्यहीबाट यता खाल्डा पुरिदिए पनि हिँडडुल गर्न त सहज हुन्थ्यो नि ।” बाटोमा भेटिएका अटो चालक धर्मराज न्यौपानेले भने ।
नगरपालिका सँग सम्झौता भएका २ करोड ४१ लाख ३५ हजार लागतका ४ वटा सडक २०७९ माघ २३ गते भित्र सम्पन्न गरिसक्नु पर्ने थियो । तर निर्माण कम्पनीले ४ वर्ष सम्म पनि काम अलपत्र पारेको छ । नगरपालिकाका अनुसार १ हजार ८ सय मिटर सिमथरी–माघी सडकको १ हजार ५ सय मिटर भने जसोतसो कालोपत्रे गरेको छ । यो सडकमा अझै ३ सय मिटर कालोपत्रेको काम बाँकी रहेको छ ।
यो सँगै अन्य ४ वटा सडक निर्माणमा भने ठेकेदारको कुनै सुरसार छैन । काम नगर्ने र योजना अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्ने तथा ठेक्का रद्द गर्ने अधिकार भए पनि हाल सम्म नगरपालिकाको औपचारिकताका लागी सोधिएको बारम्बारको स्पष्टीकरण पत्र बाहेक केही छैन ।

आफूहरूलाई जानकारी नगराई सङ्घीय सरकारले ठेकेदारको सम्झौता अवधि थपिदिने र बेलाबेला काम सुरु गरे जस्तो गरी झुक्काउने ठेकेदारीया प्रवृत्तिका कारण पनि नगरपालिका अझै कठोर बन्न नसकेको बताइएको छ । ४ वर्ष सम्म चुपचाप बनेको नगरपालिका यो पटक भने काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने मनसायमा छ । “हामीले बारबार करिब ७र८ वटा स्पष्टीकरण सोधिसकेका छौ । उसले कुनै वास्ता गरेको छैन । हामीले कार्यपालिकामा पनि भनेका छौ । अव बैठक बसेर त्यसलाई कारबाही गर्ने र धरौटी जफत गर्ने कार्यपालिकाले भनेको छ ।” नगरपालिकाका प्राविधिक त्रिलोक शाहीले भने ।
यता निर्माण कम्पनीका सञ्चालक सिद्ध ओलीले भने असोज मसान्त भित्र काम सक्ने जिकिर गरेका छन् । निर्भीक पोस्ट सँगको संवादमा उनले भने,… “विविध कारणले अहिले सम्म काम गर्न सकिएन । अव असोज महिना भित्र सबै काम सक्ने गरी तयारीमा लागेको छु । तर नगरपालिकाले मिनी क्रसर उद्योग सञ्चालनका लागि सहजता प्रदान गरिदिनु पर्छ ।”



