समाचार सारांश
- • मादलको स्थान डिजे र आधुनिक सङ्गीतले लिएको छ । मनका बह पोख्ने मौलिक भाकाहरू भड्किलो र व्यावसायिक गीतहरूको भीडमा हराउँदै गएको कैलाली जिल्ला समन्वय प्रमुख टिका चौधरी भुल बताउनुहुन्छ ।
- • पुराना पुस्ताका लागि तीज केवल नाचगान र रमाइलो मात्र थिएन, यो महिलाहरूका लागि आफ्ना भावना व्यक्त गर्ने महत्त्वपूर्ण पर्व थियो । विवाहपछि घरपरिवार र समाजबाट भोगेका पिडा, माइतीको सम्झना जस्ता विषयहरू तीज गीतका मुख्य विषयवस्तु हुन्थे ।
- • पछिल्ला केही वर्षयता तीज गीतको स्वरूपमा ठुलो परिवर्तन आएको छ । आधुनिक सङ्गीत, भड्किलो भिडियो र व्यावसायिकताको होडमा तीजका मौलिक भाकाहरू ओझेलमा परेका छन् ।
कुनै समय थियो, जब तीजको रौनक गाउँघरमा मादलको ताल र मौलिक भाकाको गुञ्जनसँगै सुरु हुन्थ्यो । दिदीबहिनीहरू आँगनमा जम्मा भएर वर्षभरिका दुःख, वेदना र भोगाइलाई गीत मार्फत गाउँदै मादलको तालमा नाचेर मन हल्का गर्थे । दिनभरि काम अनि साँझ पर्नासाथ भेला हुने महिलाहरूले मादल बजाएर तिजका भाका गाउने चलन थियो । ती गीतहरू केवल रमाइलोका लागि मात्र नभई मनका पीडा, व्यथा पोख्ने माध्यम बन्थे ।
६१ वर्षीय कैलालीको घोडाघोडी नगरपालिका ८ की पार्वती देवी खत्री पुराना दिन सम्झिनुहुन्छ । उहाँ भन्नुहुन्छ, रोपाई सकिने बित्तिकै साउनको महिना बाट नै गाँउमा मादल घन्किन थाल्थे । सबै जम्मा भएर महिना दिनसम्म नाचगान गरिन्थ्यो । अब त ती सबै हराउँदै गए ।
६३ वर्षीय तोला देवी बिष्टको पनि सम्झना उस्तै छ । उहाँ भन्नुहुन्छ, “पहिले तिजमा महिलाले आफ्ना पीडा पोख्थे । गीत गाउने माध्यम नै हाम्रो आवाज थियो । अहिलेका गीत त भड्किला हुँदै गएका छन्, मनको बोझ बिसाउने ठाउँ हराएको जस्तो लाग्छ ।”
तर, आज समय फेरिएको छ । मादलको स्थान डिजे र आधुनिक सङ्गीतले लिएको छ । मनका बह पोख्ने मौलिक भाकाहरू भड्किलो र व्यावसायिक गीतहरूको भीडमा हराउँदै गएको कैलाली जिल्ला समन्वय प्रमुख टिका चौधरी भुल बताउनुहुन्छ ।
पुराना पुस्ताका लागि तीज केवल नाचगान र रमाइलो मात्र थिएन, यो महिलाहरूका लागि आफ्ना भावना व्यक्त गर्ने महत्त्वपूर्ण पर्व थियो । विवाहपछि घरपरिवार र समाजबाट भोगेका पिडा, माइतीको सम्झना जस्ता विषयहरू तीज गीतका मुख्य विषयवस्तु हुन्थे ।
६५ वर्षीय मैती बुढाथोकी आफ्नो पालाको तीज सम्झँदै भन्नुहुन्छ, “माइत जान पनि तीज नै कुर्नुपथ्र्यो, त्यसमाथि लिन नआए जान पाइँदैनथ्यो । मादल मुजुराजस्ता परम्परागत बाजाहरूको तालमा गाइने यी गीतहरूमा भावनात्मक गहिराइ र मौलिकता थियो । अब त मादलको भाका सुनिन नै मुस्किल पर्छ, बुढाथोकिले भन्नुभयो ।
आधुनिकताको प्रभावः हराउँदै मादलको घिन्ताङ
पछिल्ला केही वर्षयता तीज गीतको स्वरूपमा ठुलो परिवर्तन आएको छ । आधुनिक सङ्गीत, भड्किलो भिडियो र व्यावसायिकताको होडमा तीजका मौलिक भाकाहरू ओझेलमा परेका छन् । भड्किलो खालका दुई अर्थ लाग्ने शब्दहरूको प्रयोग बढेको पाइन्छ, जसले गर्दा पुराना पुस्ताका मौलिक तिज गीतहरू हराउँदै गएको घोडाघोडी नगरपालिकाका उपप्रमुख गुलिया कुमारी चौधरी बताउनुहुन्छ ।
चौधरीले भन्नुभयो, मादल बजाएर तिजका भाका गाउँदै नाच्ने त कहिले कसो मात्रै देखिन्छ । अहिले त ति सबै कुराहरु लोप हुदै गएका छन् ।
तीजको मौलिकता हराउँदै जाँदा यसको सबैभन्दा ठुलो असर मादलजस्ता परम्परागत बाजाहरूमा परेको छ । कुनै समय तीजको पर्याय मानिने मादल आजकाल गाउँघरमा समेत कमै सुनिन्छ । आधुनिक र डिजिटल बाजाको प्रयोग बढेसँगै मादल बजाउने चलन पनि हराउँदै गएको छ । यसले एकातिर सांस्कृतिक पहिचानलाई कमजोर बनाइरहेको छ भने अर्कोतिर मादल बनाउने र बजाउने पेसामा संलग्नहरूलाई समेत असर पारेको छ । डिजेका कारण व्यवसायमा असर पुगेको लम्की चुहा नगरपालिका–३ का मादल व्यवसायी तीर्थ वादी बताउनुहुन्छ । “तीज, तिहार, विवाह हुने सिजनमा पहिले खुबै मादल बिक्री हुन्थ्यो”, उहाँले भन्नुभयो, “मादलको साटो बाख्रासम्म दिने गर्थे तर अहिले मादल बेच्न निकै गाह्रो पर्छ ।”
तीर्थ भन्नुहुन्छ, “डिजेले मादल लोप भइसकेको छ जसले गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्थामा आइपुगेको छ मादल बनाएर राखेको छु बिक्री हुँदैन ।”
मौलिकता जोगाउने प्रयास
तीज गीतमा बढ्दो विकृति र मौलिकता हराउँदै गइरहेको बेला यसलाई जोगाउने प्रयास पनि भइरहेका छन् । कैलालीको घोडाघोडी नगरपालिकाले मौलिक तीज गीत प्रतियोगिता आयोजना गरेर परम्परागत भाका र संस्कृति जोगाउने प्रयास गरेको छ । अघिल्लो बर्ष पनि आयोजना गरेको पालिकाले यस बर्ष सोमवार तिज प्रतियोगताको आयोजना गरेको हो । यस्ता प्रतियोगिताहरूले पुराना भाकाहरूलाई नयाँ पुस्तासम्म पुग्न मद्दत गर्ने र तीजको वास्तविक मर्मलाई जीवित राख्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको घोडाघोडी नगरपालिकाका नगर प्रमुख खड्क रावत बताउनुहुन्छ ।
तीज पर्वको सांस्कृतिक महत्वलाई जोगाइराख्नु सबैको दायित्व रहेको बताउँदै नगर प्रमुख रावतले भन्नुभयो, आधुनिकतालाई आत्मसाथ गर्दा आफ्नो मौलिकता र पहिचानलाई बिर्सन हुँदैन । मादलको ताल र मनका बह पोख्ने तीजका भाकाहरू केवल मनोरञ्जनका साधन मात्र होइनन्, यी हाम्रो समाज, संस्कृति र इतिहासका जीवन्त अभिलेख पनि हुन् । यिनको संरक्षण गर्नु भनेको हाम्रो आफ्नै पहिचानको संरक्षण गर्नु हो रावतले भन्नुभयो ।
केही दिनअघि पनि घोडाघोडी महिला सञ्जालले मौलिक तीज मिलन कार्यक्रमको आयोजना गरेको थियो । घोडाघोडी मन्दिर नजिक महिलाहरू जम्मा भएर मादल बजाएर तीज गीत गाउँदै रमाइलो गरेको सञ्जालका अध्यक्ष रमा आचार्यले बताउनुभयो । “तीजको मौलिकता हराउँदै गएको छ”,उहाँले भन्नुभयो, “सुखदुख साट्ने तीज अहिले भड्किलो हुँदै गएको छ, यसलाई जोगाउनका लागि तीज मिलन कार्यक्रम गरेका हौँ ।”



