समाचार सारांश
- • सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ।
- • सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो।
सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ।
प्रदेश लगानी तथा विकास सम्मेलन कार्यकारी समितिको सिफारिसअनुसार सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो। सम्मेलनको तयारी तथा व्यवस्थापनका लागि प्रदेश सरकारका विभिन्न निकायहरू सक्रिय रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
यसअघि उक्त सम्मेलन असोज १ र २ गते आयोजना गर्ने भनिए पनि विविध कारणले मिति सरेको हो। अब तय गरिएको नयाँ मितिमा सम्मेलन प्रभावकारी बनाउने गरी तयारी अघि बढाइएको प्रदेश सरकारको भनाइ छ।
सम्मेलनमार्फत सुदूरपश्चिम प्रदेशमा विद्युत्, पर्यटन, कृषि, पूर्वाधार लगायतका क्षेत्रहरूमा निजी तथा वैदेशिक लगानी भित्र्याउने लक्ष्य लिइएको छ।


