कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर २ अन्तर्गत पर्ने थुम्की गाउँका बासिन्दा अहिले चरम सास्तीमा छन्। वर्षाको मौसमसँगै यहाँको मुख्य सडक हिलाम्य भएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको हो। उक्त सडकबाट दैनिकजसो आवागमन हुने हुँदा स्थानीय जनतालाई निकै अप्ठ्यारो भएको छ।
सबैभन्दा बढी मारमा परेका छन् — विद्यालय जानुपर्ने बालबालिका। बाटो यति हिलाम्य भएको छ कि स्कुल भ्यान र स्कुल बस नै फस्ने गरेका छन्। केही दिन अगाडि मात्रै लिटिल एन्जल्स स्कुलको बस्दा सडकमै पल्टिएको थियो। फसेका बस र भ्यानलाई स्थानीय अभिभावकले हातैले धकेल्नुपरेको दृश्यहरू सामान्य बन्दै गएका छन्।
स्थानीयहरूका अनुसार बिहान बेलुकाको यात्रा अत्यन्त कठिन बन्छ। बच्चाहरू चप्पलमै हिलोले भरिएर स्कुल पुग्न बाध्य छन्। “हामी बच्चा पठाउँदा डर लाग्छ, बाटोमै बस फस्छ, कहिले के हुन्छ भनेर चिन्ता हुन्छ,” एक स्थानीय कलु देवी बिष्टले भनिन्।
सडक समस्या समाधानका लागि सम्बन्धित निकायमा पटक–पटक गुनासो राखे पनि हालसम्म कुनै सुनुवाई नभएको स्थानीयको गुनासो छ।
अहिले स्थानीय बासिन्दाले सामाजिक सञ्जालदेखि विभिन्न माध्यमबाट आवाज उठाउन थालेका छन्। स्थानीयले सडक नबन्दा विकास होइन, विपत्ति भोगिरहेको भन्दै अब नगरपालिका र प्रदेश सरकारले गम्भीर चासो दिनुपर्ने बताएका छन्।



