धनगढी : कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको बिचमा स्वागतद्वार निर्माण गरिएको छ । धनगढी उपमहानगरपालिकाले मोहनपुर, गेटामा स्वागतद्वार निर्माण गरेको हो ।
धनगढी–अत्तरिया ६ लेन सडकको मोहनपुर सीमा क्षेत्रमा स्वागतद्वार निर्माण गरिएको हो । धनगढी उपमहानगरपालिकाले गत मंसिर २७ गते स्वागतद्धार निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो । धनगढी उपमहानगरपालिकाका अनुसार श्री उप्रेती विल्डर्स एण्ड इन्जिनियर्स प्रालि, धनगढीसँग १९ लाख ५६ हजार नौ सय ८९ रुपैयाँमा स्वागतद्वार निर्माणको सम्झौता गरेको थियो ।
धनगढी उपमहानगरपालिकाले स्वागतद्वारमा ३२ वटा फ्लड लाइट र स्ट्रिप लाइटसमेत जडान गर्दैछ । विजुली–बत्तीका लागि धनगढी उपमहानगरपालिकाले थप चार लाख ४७ हजार तीन सय ८१ रुपैयाँ खर्च गर्दै छ। ठेक्का सम्झौता मार्फत नै स्वागतद्वारमा धनगढी उपमहानगरपालिकाले बत्ती जडान गर्दैछ ।
निर्माण कम्पनीले गत फागुन ३० गते भित्र स्वागतद्वार निर्माणको काम पूरा गर्नुपर्ने हो । तर, सम्झौताको समय भित्र सबै काम निर्माण कम्पनीले सकेको छैन । स्वागतद्वार निर्माणको काम जारी रहेको छ ।
धनगढी विमानस्थल जोड्ने सडकमासमेत स्वागतद्वार निर्माण गरिएको छ ।