कैलालीस्थित जिल्ला कारागार भित्र कैदीबन्दीहरूबीच कुटाकुट भएको छ। घटनापछि जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणा आफैँ घटनास्थलमा पुगेर कैदी तथा थुनुवासँग सोधपुछ गरिरहेका छन्।
प्रारम्भिक जानकारीअनुसार, झगडामा संलग्न व्यक्तिहरू र झगडाको वास्तविक कारण खुल्न बाँकी छ। तर, एक जना कैदीको नाकमा चोट लागेको बताइएको छ। घटनाको संवेदनशीलता हेरेर प्रहरीले कारागार परिसरमा थप सुरक्षा सतर्कता अपनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट प्रमुखसहित थप सुरक्षाकर्मी घटनास्थलमा खटाइएको छ।
एसपी राणाले पत्रकारहरूसँग कुराकानी गर्दै भने, “लफडा भएको हो, म अहिले यही छु, सोधपुछ भइरहेको छ।” पत्रकारहरूलाई कारागार परिसरभित्र प्रवेश अनुमति दिइएको छैन।
जिल्ला कारागार, कैलालीमा यसअघि पनि पटक–पटक यस्ता झगडा हुने गरेका छन्। फरक–फरक समूहमा बाँडिएका कैदीबीच विवाद र कुटाकुटको घटना सामान्यजस्तै बनेको देखिन्छ। केही घटनामा प्रहरीकै संलग्नतामा कैदीहरूलाई कुटपिट गरिएको आरोपसमेत लाग्ने गरेका छन्।
यसअघि डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी हरि सिंह पालीको कारागारमै कुटपिट गरी हत्या गरिएको आरोपसहित कैलाली प्रहरीमा जाहेरी समेत दर्ता भएको थियो।
जिल्ला प्रहरी कार्यालयले पछिल्लो घटनाबारे अनुसन्धान जारी रहेको जनाएको छ।


