घोडाघोडी नगरपालिकामा स्थानीय तह राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ भव्य रूपमा सुरु गरिएको छ। स्थानीय तह राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको आयोजनामा वडा नं. १०, पहलमानपुरस्थित कान्तिराज्यलक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा बुधबार एक विशेष कार्यक्रममा प्रतियोगिताको उद्घाटन गरिएको हो। 
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित सुरु भएको प्रतियोगिताको उद्घाटन नगर प्रमुख खडक बहादुर रावतले गरे। उद्घाटन समारोहमा बोल्दै उनले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा भौतिक विकासका लागि खेलकुद अनिवार्य रहेको उल्लेख गर्दै घोडाघोडी नगरपालिकाले हरेक वर्ष यस किसिमका अतिरिक्त क्रियाकलापलाई प्राथमिकताका साथ सञ्चालन गर्दै आएको बताए। 
प्रमुख रावतले विगतका स्मरणीय उपलब्धिहरू प्रस्ट्याउँदै स्थानीय खेलाडीहरूले जिल्ला, प्रदेश हुँदै केन्द्र स्तरसम्म उत्कृष्ठ प्रदर्शन गरेर पालिकाको नाम उचो बनाउँदै आएकोमा गर्व व्यक्त गरे। नगरपालिकाले खेलकुद पूर्वाधार तथा अवसर विस्तारका लागि निरन्तर प्रयास गरिरहेको उनले स्पष्ट पारे।
यसअघि कार्तिक २१ र २२ गते आधारभूत तहको अन्तर–विद्यालय अतिरिक्त क्रियाकलाप तथा खेलकुद प्रतियोगिता पाँच क्लस्टरमा सम्पन्न भएको थियो। नगर स्तरीय १६औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भने मंसिर १७ गतेबाट सुरु भई मंसिर २० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
नगर भित्रका २४ विद्यालयका छात्र–छात्राको सहभागिता रहेको प्रतियोगितामा १२ सय खेलाडी प्रत्यक्ष प्रतिस्पर्धामा उत्रिनेछन्। प्रतियोगिताअन्तर्गत भलिबल, कबड्डी, दौड, एथलेटिक्स लगायतका खेलहरू सञ्चालन हुने छन्।
प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक स्वयं नगर प्रमुख खडक बहादुर रावत रहेका छन्। उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, जनप्रतिनिधि, स्थानीय अभिभावक, सामुदायिक वनका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा खेल प्रेमीको उल्लेखनीय उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन कान्ति राज्यलक्ष्मी माविका प्रधानाध्यापक उमाकान्त मिश्रले गरेका थिए।




