सिटिजन्स बैंक सुखड शाखाले घोडाघोडी नगरपालिका–१ स्थित सुखडचोकमा अस्थायी प्रहरी बिट निर्माण गरी इलाका प्रहरी कार्यालय सुखडलाई हस्तान्तरण गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (ऋक्च्) कार्यक्रम अन्तर्गत अस्थायी प्रहरी बिट निर्माण गरी इलाका प्रहरी कार्यालय सुखडलाई हस्तान्तरण गरेको हो ।
प्रहरी प्रशासनको प्रभावकारिता र स्थानीय सुरक्षाको सुदृढीकरणका लागि बैंकले प्रहरी बिट निर्माणमा आर्थिक सहयोग उपलब्ध गराएको हो । बैंकका क्षेत्रीय कार्यालय प्रमुख तथा स्थानीय शाखा प्रबन्धकहरुको समन्वयमा उक्त बिट निर्माण कार्य सम्पन्न भएको जनाइएको छ । 

प्रहरी बिटको उद्घाटन गर्दै इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले सिटिजन्स बैंकले सामाजिक क्षेत्रमा पुर्याएको योगदान अनुकरणीय रहेको बताउँदै यस किसिमको सहयोगले प्रहरीलाई आम नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न थप हौसला पुग्ने बताए ।
बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख मञ्जु पाठकको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुखड शाखाका प्रमुख पुष्कर बोहरा र सहायक शाखा प्रमुख ईश्वरी प्रसाद ढकालले गरेका थिए ।
सिटिजन्स बैंकले आफ्ना २०० वटा शाखा कार्यालयबाट आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । सुखड शाखाले आफ्नो स्थापना कालदेखि नै यस क्षेत्रका नागरिकहरूलाई नगद कारोबारका, रेमिटान्सको भुक्तानी, विभिन्न किसिमका कर्जा सुविधा लगायतका विभिन्न आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।
प्रकाशित :- २०८२ असार ५, बिहीबार ०८:५८


