कैलालीको धनगढी उप–महानगरपालिका मेयर गोपाल हमालले डोजर आतङ्क गरी स्थानीयमा त्रास सृजना गरेको वडा अध्यक्ष गजेन्द्र शाहीले प्रतिक्रिया दिएका छन् । शाही वडा नम्बर ५ का वडा अध्यक्ष हुन । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत मेयर हमालको विरोध गरेका हुन ।
“ एक स्थानीयले माछा पालन गरेको र आवश्यक पर्दा जुनसुकै बेला छोड्न तयार रहेको बत्ताउँदा बताउँदै वडा सँग कुनै समन्वय नगरी हात हतियार सहितका प्रहरी खटाई जनमानसमा त्रास फैलाउन खोज्नु निन्दनीय छ । वडा कार्यालयले सामान्य छलफलबाट समाधान गर्न सक्ने समस्यालाई राज्य सक्तीको अनावश्यक दोहन गरी गाउँघरमा त्रास फैलाउनु तथा सस्तो लोकप्रियताका लागी स्टण्डबाजी गर्नुले नकारात्मक सन्देश प्रवाह भइरहेको छ ।” उनले लेखेका छन् ।
मेयर हमालले कसैको कुरा नसुनी एकलौटी ढङ्गबाट अनावश्यक डोजर आतङ्क फैलाई राज्य र समाजबिच दूरी बढाउन खोजिनु गलत भएको उनको भनाई छ । हमालले कार्यपालिकाको बैठक समेत रोकेर पीडितहरू सँगको छलफल बिना स्थानीयको घर संरचनामा डोजर चलाएको भन्दै स्थानीयहरूमा समेत चर्को आलोचना भई रहेको छ । हमाललाई छलफल र वार्तामा आउन अनुरोध गर्दै सङ्घर्ष समितिहरू समेत निर्माण गरिएका छन् । जनताको मागलाई बेवास्ता गरे हमाल विरुद्ध कडा प्रतिकारमा उत्रिने तयारी समेत गर्न थालिएको छ ।