
कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले अव्यवस्थित बसोबासीहरुलाई नि सुल्क लालपुर्जा वितरण गर्नु पर्ने बताएका छन् । मङ्गलवार भूमि आयोग कैलालीले धनगढीमा आयोजना गरेको पालिकाका पदाधिकारीका लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो सुझाव दिएका हुन ।


सरकारले अव्यवस्थित जग्गाको राजस्व निकै चर्को तोकेको र स्थानीयले सोही अनुरूप राजस्व तिर्न सक्ने अवस्था नभएकाले राजस्व घटाउनु पर्ने वा नि सुल्क रूपमा पुर्जा वितरण गर्नु पर्ने धारणा राखे । “मलाई कता कता जनतालाई लालपुर्जा नदिने हो कि भन्ने लागिरा छ । हामीले कति दुख गरेर नापी सम्पन्न गरेका छौ तर पुर्जा दिन सक्ने अवस्था छैन । पुर्जाको राजस्व यति चर्को छ कि, मलाई लाग्छ यो घटाउने होइन भने जनताले पुर्जा लिनै सक्दैनन् । खाली पालिकाहरूलाई दुख दिने काम मात्रै भएको छ । तुरुन्त राजस्व घटाउने तर्फ सरकार लाग्नु पर्यो ।” उनले भने ।
राजस्व घटाउने मात्र होइन नि सुल्क पुर्जा बाँड्ने तर्फ पनि सरकारले सोच्नु पर्ने कुरामा उनले जोड दिए । उनले अघि भने,… “जनताले अहिले सम्म राजस्व नतिरेरै जग्गा उपभोग गरेका छन् भनेर चर्को राजस्व लिने कुरा न्यायोचित होइन । हाम्रै दाजुभाइ हुन, अहिले सम्म नि सुल्क जगा उपभोग गरे अब पनि सकिन्छ भने बरु नि:सुल्क बाँडौँ । हाम्रै जनता त हुन । जनतालाई मात्र किन मार पार्ने ?”

उनले बर्दगोरिया गाउँपालिकामा जग्गा नाप जाँच कार्य सम्पन्न भइसक्दा समेत राजस्व बढी भएकै कारण पुर्जा बाँड्न नसकिएको उल्लेख गरे । जनताको अवस्था नफेरिए सम्म व्यवस्था परिवर्तनले मात्रै केही उपलब्धि नहुने भन्दै उनले सरकारले जनताको सहजता र न्यायको पक्षमा काम गर्नु पर्ने कुरामा जोड दिए ।



