बैतडी जिल्लाको सिगास गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्षसहित शिक्षक पक्राउ परेका छन्।
सिगास गाउँपालिकाका प्रवक्ता समेत रहेका अमरसिंह धामीसहित शिक्षक चार वर्ष अघि जबरजस्ती करणी मुद्दामा मिलापत्र गरेको आरोपमा पक्राउ परेका हुन् ।
सोमबार वडाअध्यक्ष धामी, गाउँपालिकाका कर्मचारी राजेन्द्रसिंह धामी र भुवन भास्कार माविका शिक्षक मनोजसिंह धामी पक्राउ परेका प्रहरीले जनाएको छ l २०७७ सालमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै स्थानीय दिपक सिंह धामीमाथि आरोप लागेको थियो । सोही घटना बाहिर आएपछि वडाअध्यक्ष अमरसिंह, शिक्षक मनोजसिंह, कर्मचारी राजेन्द्रसिंहलगायतले तमसुक बनाएर घटनाको मिलापत्र गरेका थिए।
आरोपित दिपकले जबरजस्ती करणीमा परेकी किशोरीलाई सुन दिने सहमतिसहितको तमसुक बनाएका जनाइएको छ । मिलोमतोमा संलग्न अर्का गोपालसिंह धामीले कैद भुक्तान गरेर छुटिसकेका छन्। सोही तमसुकको साँक्षी बसेका अध्यक्ष, शिक्षक र कर्मचारी सोमबार पुनः पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। पक्राउ परेका तीनै जनालाई उच्च अदालत दिपायलको कञ्चनपुर इजलासले एक महिना कैद सजाय तोकेको छ।
त्यसमध्ये वडा अध्यक्ष र शिक्षक २७ दिन कारागार बसेका थिए। उनीहरूले अब ३ दिनमात्रै बस्नु पर्नेछ। यसअघि २५ दिन कैद भुक्तान गरेका राजेन्द्रले ५ दिन पुनः बस्नुपर्ने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमबिक्रम केसीले बताएका हुन् । तीनै जनाले १० हजार जरिवना पनि तिर्नु पर्नेछ। जबरजस्ती करणीमा संलग्न दिपकसिंह धामी भने फरार भएका छन् ।





