जरा अभियान चलाइरहेको नेकपा एमालेका नेताहरु अहिले वडा तथा टोल केन्द्रीत भएका छन् । उनीहरुले वडा तथा टोल–टोलमा पुगेर कमिटीहरू गठन गरिरहेका छन् । यसै अन्तरगत कैलालीको घोडाघोडीका वडाहरुमा अभियान चलाइरहेको एमालेले आइतबार घोडाघोडी नगरपालिका–७ मा वडा केन्द्रीत अभियान सुरु गरेको छ ।

नेकपा एमाले घोडाघोडी ७ नम्बर वडा कमिटीको आयोजनामा आइतबारदेखि सङ्गठन विस्तारका लागि टोल केन्द्रित जरा अभियान सञ्चालन गरेको हो । एमालेका नेता तथा कार्यकर्ता एवं जनप्रतिनिधिसहित जनताको घरघर पुगेर स्थानीय समस्या पहिचान गरि समाधान गर्दै पार्टीलाई जनतासँग जोड्ने अभियानमा अहिले एमाले जुटेको छ । सोही अभियान अन्तरगत घोडाघोडी ७ मा वडा कमिटी विस्तारित बैठक सहित जरा अभियानको थालनी गरिएको एमाले कैलालीका सचिवालय सदस्य तथा सो वडाका इन्चार्ज सुरेन्द्र शाही (विवेक) ले जानकारी दिए ।
पार्टी जनसङ्गठन तथा नयाँ पार्टी सदस्यता विस्तार र नवीकरण गर्दै वडा तहमा पार्टीको उपस्थितिलाई मजबुद बनाउने उद्देश्यका साथ अभियानमा जुटेको सो वडाका अध्यक्ष धन बहादुर बमले बताए ।
सोही अवसरमा वडाका पुराना नेता तथा आफ्ना समर्थकहरुलाई सम्मान समेत गरिएको छ । नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाले खादामाला तथा सम्मान पत्रसहित सम्मान गर्दै यस क्षेत्रको विकास निर्माणमा पार्टी जिम्मेवार भएर लाग्ने विश्वास व्यक्त गरे । वडाको मुख्य समस्याको रुपमा रहेको नदी कटानको समस्या लाई छिट्टै समाधान गरिने समेत ढुङ्गानाले बताए ।
पार्टी वडाअध्यक्ष धन बहादुर बमको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका नेताहरु विष्णु चौधरी, पूर्णराज जोशी, एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं वडा इन्चार्ज सुरेन्द्र शाही (विवेक), जिल्ला कमिटी सदस्य कपिल सापकोटा, निरज मल्ल घोडाघोडी नगर कमिटी अध्यक्ष हेम सापकोटा, सचिव राजु बम लगायतले स्थानीय समस्या,पार्टीको विचार सिद्धान्त र अभियानको उद्देश्यबारे बोलेका थिए ।



