
कैलालीको घोडाघोडी नगरपालिकाले नदीहरूको ठेक्का गर्न नसक्दा तस्करी हुने गरेको खुलेको छ । गिट्टी, बालुवा, ढुङ्गा उत्खननका लागि चालु आर्थिक वर्षमा ठेक्का सम्झौता नभएकाले अवैध उत्खनन भइरहेको पाइएको हो ।


नगरपालिकाले पाँच वटा नदी, खोला ठेक्कामा दिएर नदीजन्य पदार्थ उत्खनन गर्दै आएको छ। तर, चालु आर्थिक वर्षमा एक नदीको मात्र ठेक्का सम्झौता गरिएको छ । अन्य खोलाहरूको ठेक्का गरिएको छैन । नगरपालिकाका कर्मचारीहरू खोलामा खटाएर राजस्व उठाउने तयारी छ ।


चालु आर्थिक वर्षको ६ महिना जाँदासमेत नदीजन्य पदार्थ उत्खनन रोकिँदा अवैध दोहन बढेको हो । गिट्टी, बालुवा, ढुङ्गालगायतका सामग्री उत्खनन तथा चोरी निकासी बढ्दै गएको पाइएको छ । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस पहलमानपुरको गस्ती टोलीले कान्द्रा नदीमा दुई वटा जेसिबी लगाएर अवैध रूपमा गिट्टी, बालुवा उत्खनन गर्दै गर्दा नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले से १ क ५६० र भे १ क १३२२ नम्बरको जेसिबीले कान्द्रा नदीमा गिट्टी, बालुवा निकाल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले कारबाहीका लागि घोडाघोडी नगरपालिकालाई पत्राचार गरेर पाँच÷चार हजार जरिबाना तिराइएको बताएको छ ।


नगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि कान्द्रा, कन्द्री, टेग्ना, डोडा र झिँगेझाला खोलाको एकमुस्ट पटक–पटक ठेक्का आह्वान गरेको थियो। ठेक्का नलागेपछि तीन वटा र दुई वटा खोलाको अलग–अलगसमेत ठेक्का आह्वान गरिएको छ। ठेक्का नलागेपछि प्रत्येक नदीको अलग–अलग ठेक्का आह्वान गर्दा पनि कान्द्रा नदी मात्र ठेक्कामा गएको नगरपालिकाले बताएको छ ।