कैलालीको घोडाघोडी नगरपालिकामा करिब ५ हजार किशोरीलाई एच.पि.भी. खोप लगाइने भएको छ । राष्ट्रव्यापी रूपमा सञ्चालन हुने एच.पि.भी. खोप अभियान २०८१ अन्तर्गत

घोडाघोडी नगरपालिकाले पनि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म किशोरीलाई एच.पि.भी. खोप दिने भएको हो ।
उक्त खोप अभियानका क्रममा घोडाघोडी नगरपालिकाले ५२ सामुदायिक विद्यालयका ६ देखि १० कक्षासम्मका र विद्यालय भन्दा बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप लगाइने छ । सोही क्रममा ४ हजार ९ सय २१ जना किशोरीलाई खोप दिइने घोडाघोडी नगरपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले जानकारी दिएका छन् । जसमा ४ हजार ८ सात ७० जना विद्यालयका र ५१ जना अन्य रहेका छन् ।
महिलाको पाठेघरको मुखमा लाग्ने क्यान्सर उन्मूलन गर्न राष्ट्रव्यापी रूपमा खोप अभियान सञ्चालन हुने भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार एक कार्यक्रमको आयोजना गर्दै खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो । नगर उपप्रमुख गुलिया कुमारी चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावतले गरेका थिए भने, कार्यक्रममको सञ्चालन स्वास्थ्य शाखामा कार्यरत मान बहादुर बोहोराले गरेका थिए ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न शाखाका शाखा प्रमुख, पत्रकार, शिक्षक, स्वयंसेविका, लगायतको उपस्थिति रहेको थियो ।



