क्रिकेटको शहर भनेर चिनिने सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा यही माघ १९ गतेदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । जसमा ८ ओटा फ्रेन्चाइज टोलीले सहभागिता जनाउन लागेका छन् । उक्त क्रिकेट प्रतियोगिता धनगढीस्थिति फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश अर्जुन ट्रफी गो ड्रिमर्सको आयोजनामा यही माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म हुन लागेको हो ।
घोडाघोडी ११ सुखडले प्रतियोगीताका लागि शेर मल्लको कप्तानीमा आफ्नो टोली घोषणा गरेको छ । शनिवार मल्लको कप्तानीमा विभिन्न लिग तथा प्रतियोगिताबाट थुप्रै अनुभव संगाली सकेका खेलाडीलाई समावेश गर्दै टोली घोषणा गरेको टोलीका अध्यक्ष रमेश आचार्यले जानकारी दिएका हुन् । घोडाघोडी क्रिकेट एकेडेमीकातर्फबाट फ्रेन्चाइज टोलीको रूपमा घोडाघोडी ११ सुखड अर्जुन ट्रफीमा सहभागी हुन लागेको हो ।
जसमा कप्तान शेर मल्ल, अशोक धामी, नरेन साउद, नरेश सार्की, धर्मराज जोशी, भूपेस जोशी, टेक रावत, आयुव चन्द, विपिन विक्रम शाही, दीपक टमाटा, दिनेस रावत, योगेश भाट, सौर्य श्रेष्ठ, सुदान्सु रावल रहेका छन् । जसको मुख्य प्रशिक्षकमा ज्ञानेन्द्र क्षेत्री रहेका छन् भने टोली व्यवस्थापकको भूमिकामा धर्मराज जोशी रहने अध्यक्ष आचार्यले जानकारी दिए ।
अध्यक्ष आचार्यका अनुसार घोडाघोडी ११ ले यही माघ १० गतेदेखि धनगढीको कबर्ड हलमा प्रशिक्षण थाल्ने छ ।
धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काको स्मृतिमा आयोजना गर्न लागेको अर्जुन ट्रफी क्रिकेट प्रतियोगिता टी-२० फर्म्याटमा हुनेछ । जसको विजेताले नगद १० लाख रुपैयाँ सहित ट्रफी हात पार्नेछ भने उपविजेताले पनि ५ लाख सहित ट्रफी प्राप्त गर्ने बताइएको छ ।

यस्तै प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १ लाख प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०/५० हजार पाउनेछन् । प्रत्येक खेलका म्यान अफ द म्याचलाई १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा डिसिए धनगढी, सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी) काठमाण्डौ, फेण्ड्स युथ क्लब डडेल्धुरा, घोडाघोडी-११ सुखड, न्यू होराईजन वुटवल, दशरथ चन्द एकेडेमी बैतडी र वोष्टन क्रिकेट झापाको सहभागीता रहने छ ।
प्रतियोगितामा सहभागी टोलीमा ए श्रेणीका चार जना, बी श्रेणीका पाँच जना र बाँकी सी श्रेणीका गरी १४ खेलाडी समावेश गर्न पाईने प्रावधान रहेको छ । ए श्रेणीमा नेपाली राष्ट्रिय टोलीका खेलाडी रहेका छन् भने बी श्रेणीमा नेपाली राष्ट्रिय टोली ए, यु-१९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी श्रेणीमा यु-१६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु-१९ र यु-१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।

