
गण्डकी प्रदेश सरकारमा नेकपा एमालेबाट ४ जना मन्त्री बन्ने भएका छन् । प्रदेश सभा सदस्यहरू पद्यमा जिसी, मित्रलाल बस्याल, कृष्ण पाठक र प्रकाश केसी मन्त्री बन्ने पक्का भएको एमालेका एक सांसदले बताएका छन् ।


एमाले गण्डकी संसदीय दलका नेता खगराज अधिकारीले सोमबार सरकारमा सहभागी हुने सांसदको नाम मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाएका थिए । मुख्यमन्त्री पाण्डेले उनीहरूलाई सोमबार नै मन्त्री नियुक्त गर्ने र दिउँसो शपथ ग्रहण कार्यक्रमको तयारी गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
एमालेबाट मन्त्री बन्न लागेका सांसदहरु पद्यमा जिसी नवलपुरका हुन् भने प्रकाश केसी कास्कीका हुन् । केसी खाद्य संस्थाका अध्यक्ष हुँदाहुँदै २०७४ सालमा राप्रपाबाट एमालेमा प्रवेश गरेका थिए । यस्तै, मित्रलाल बस्याल पर्वत र कृष्ण पाठक बागलुङबाट निर्वाचित सांसद हुन् ।
गण्डकीमा एमालेबाट मन्त्री बन्न लागेका चारजनामध्ये बस्याल र जिसी एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ निकट छन् भने पाठक र केसी खगराज अधिकारी निकट मानिन्छिन् ।
एमालेलाई सरकारमा सहभागी गराउन आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ७ वटा मन्त्रालय बढाएर ९ वटा पु¥याएको थियो। प्रदेश सरकारले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र वन, वातावरण तथा उद्योग मन्त्रालय फुटाएको थियो ।

कांग्रेस र एमाले गण्डकीमा ९ वटा मन्त्रालय पु¥याउने र एमालेलाई ४ वटा कांग्रेसले ५ वटा मन्त्रालय राख्ने सहमति भएको थियो ।



