
पछिल्लो समय देशभर डेङ्गीका बिरामीको निकै बढेको छ । हालसम्म देशभर ६ हजारभन्दा बढी बिरामी रहेका जनाइएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार देशका हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा डेङ्गी सङ्क्रमण देखिएको छ । पछिल्लो तथ्याङ्कअनुसार ६ हजार ३ सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।


यस्तै सङ्क्रमणका कारणले ३ जनाको ज्यान समेत गइसकेको बताएको छ । डेङ्गीको सङ्क्रमण सबैभन्दा बढी गण्डकी प्रदेशमा देखिएको छ । महाशाखाका अनुसार गण्डकी प्रदेशमा २ हजार ९ सय ५४ जनामा सङ्क्रमण देखिएको छ । कोशी प्रदेशमा ७ सय ९१, मधेसमा १ सय, बाग्मतीमा १ हजार ६ सय २३, लुम्बिनीमा ४ सय ४४, कर्णालीमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३ सय ४२ जनामा सङ्क्रमण देखिएका छ ।
सबैभन्दा धेरै प्रभावित जिल्ला तनहुँ रहेको छ । जहाँ १ हजार १ सय १६ जना सङ्क्रमित रहेका छन् । यस्तै काठमाण्डौ जिल्लामा ५ सय ११, भक्तपुरमा ६९ र ललितपुरमा १ सय जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।

वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गीको सङ्क्रमण बढेको महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जानकारी दिएका छन् । सरकारी अस्पतालमा डेङ्गी रोगका बिरामीको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेङ्गीको सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान समेत सञ्चालन गरेको छ ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएसँगै टोकेपछि डेङ्गी लाग्छ । डेङ्गी लाग्न नदिन लामखुट्टेको टोकाइबाट बच्न विज्ञहरुले आग्रह गर्दै आएका छन् ।

यस्तै महाशाखाका अनुसार देशभर हैजाका बिरामी ७५ जना पुगेका छन् । ललितपुर, काठमाण्डौ, प्यूठान, मकवानपुर, कैलाली र रोल्पामा हैजाका बिरामी भेटिएको महाशाखाले जनाएको छ । ललितपुरमा ५०, काठमाडौंमा १०, कैलालीमा ८, रोल्पामा ४, प्यूठानमा २ र मकवानपुर १ जनामा हैजा पुष्टि भएको बताइएको छ ।

हैजा सङ्क्रमितमध्ये ७४ जना निको भएका छन् । एक जनाको उपचार भइरहेको छ । हैजा अति सङ्क्रामक र शीघ्र फैलिने पखाला भएकाले यसबाट जोगिनका लागि पानी उमालेर या शुद्धीकरण गरेर पिउन, बासी र सडेगलेका खानेकुरा नखान तथा व्यक्तिगत सरसफाइमा ध्यान दिन विज्ञहरूले आग्रह गर्दै आएका छन् ।