कैलाली जिल्लाका विभिन्न ठाउँबाट भन्सार छली ल्याएका सामानहरू प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय र त्यस मातहतका अन्य कार्यालयबाट खटेको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरूमा रहेका भारतीय नाकाहरूबाट भन्सार छली गरी अवैध रुपमा ल्याएको ४ लाख २५ हजार ४ सय ६५ बराबरको माल सामान बरामद गरेको जनाएको छ ।
धनगढी उपमहानगरपालिका-१० जुगेडाबाट २ लाख ७० हजार बराबरका विभिन्न कम्पनीका मोबाइलको डिस्प्ले बरामद गर्दा जिल्लाकै गोदावरी नगरपालिका-३ मालाखेतीबाट १ लाख २९ हजार ६ सय बराबरको जर्दा तुल्सी सुर्ती बरामद गरेको छ ।
यस्तै जिल्ला गोदावरी नगरपालिका-४ गोदावरीबाट १९ हजार ८ सय ६५ बराबरको नरिवल, प्लास्टिक झिल्ली, पान छाप सुर्ती, सलाई बरामद हुँदा धनगढी उपमहानगरपालिका-७ सरस्वती स्कुल नजिकबाट ६ हजार बराबरको प्याज नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद गरिएका उक्त परिणामका सामानहरू थप कारवाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।