
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज मङ्गलबार पार्टी कार्यालयमा बस्ने भएको छ ।


पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठकमा निलम्बित महामन्त्री डाक्टर मुकुल ढकालको अनुशासनको कारबाहीबारे पनि छलफल हुने जनाइएको छ । यसअघिको बैठकमा ढकाललाई स्पष्टीकरणको अन्तिम मौका दिइएको थियो ।
त्यसअघि पनि उनलाई स्पष्टीकरण सोधी सकेको छ । पार्टीको प्रतिवेदन मिडियामा चुहाएको, पार्टी हितविरूद्ध गतिविधि गरेको भन्दै उनलाई पार्टी महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट निलम्बन गरिएको छ । उनलाई अब रास्वपाका साधारण सदस्य समेत नरहने गरी कारबाहीको माग समेत गरिएको छ ।

यस्तै आज बस्ने बैठकले स्थानीय छाया सरकार सञ्चालनबारे कार्यविधि बनाउने छ । पार्टीका आधारभूत सङ्गठन बलियो बनाउन तथा सङ्गठनात्मक प्रभावकारिताका लागि रास्वपाले स्थानीय तहमा छाया सरकार बनाउन लागेको जनाएको छ । बैठकले समसामयिक पार्टी गतिविधिबारे पनि छलफल गर्ने बताइएको छ ।



