सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१०८२ को बजेटमा सिँचाइ कुलो र पोखरीका लागि साढे ३ सय योजनाका लागि बजेट विनियोजन गरेको छ ।
कृषि ज्ञान केन्द्रहरूले कार्यान्वयन गर्ने योजनाका लागि साढे २० करोड बजेट विनियोजन गरिएको छ । सिँचाइ कुलो, पोखरी, कुलो मर्मत र लिफ्ट सिँचाइ योजनाको नाममा अधिकांश योजनामा ५ लाखका दरले बजेट विनियोजन गरिएको छ । बजेट ल्याउनु अघि टुक्रे तथा व्यक्ति विशेषका योजनामा बजेट नहाल्ने दाबी गरेको सुदूरपश्चिम सरकारले सिँचाइ कुलो र पोखरी निर्माणको नाममा बजेट छर्ने काम गरेको छ । बजेट निर्माण पूर्व २५ लाखभन्दा कम रकम भएका योजना नल्याउने घोषणा गरेको सुदूरपश्चिम सरकारले बजेटमा भने सबैभन्दा बढी ५ र १० लाख रकमका योजना समेटेको छ ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा बग्रेल्ती अनुदानका योजनामा बजेट विनियोजन गरेको छ । कृषि ज्ञान केन्द्रहरूले कार्यान्वयन गर्ने सिँचाइ कुलो र पोखरीमा सुदूरपश्चिम सरकारले २० करोड ४५ लाख बजेट विनियोजन गरेको छ । प्रदेशका ९ जिल्लामा ३ सय ४९ सिँचाइ कुलो, पोखरी र लिफ्ट सिँचाइ तथा सिँचाइ कुलो मर्मतमा सरकारले २० करोड ४५ लाख बजेट विनियोजन गरेको हो ।
चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले सिँचाइका योजनामा सबैभन्दा बढी बजेट कञ्चनपुरका लागि विनियोजन गरेको छ । केन्द्र सरकारको महाकाली सिँचाइ आयोजना समेत रहेको कञ्चनपुरमा प्रदेश सरकारले २० वटा सिँचाइका योजनाका लागि ३ करोड ७७ लाख बजेट विनियोजन गरेको हो । दोस्रो बढी योजना पाएको अछाम जिल्लामा ७२ सिँचाइ कुलो र पोखरीका योजनामा ३ करोड २९ लाख बजेट विनियोजन गरिएको छ । अछाममा ३५ सिँचाइका योजनामा ३ लाखका दरले बजेट विनियोजन गरिएको छ । ३ लाखका योजनामा एकै शीर्षकमा बजेट राखेर सो बजेट १३ योजनामा खर्च गर्नुपर्ने व्यवस्था गरिएको छ । अछाममा ३२ सिँचाइका योजनामा ५ लाखका दरले बजेट विनियोजन गरिएको छ । सिँचाइ योजना मर्मत शीर्षकमा मात्रै एकमुष्ट ६० लाख बजेट छ ।
तेस्रो बढी सिँचाइको योजना पाउने जिल्ला बझाङमा ३४ पोखरी र कुलोको योजनामा २ करोड ३५ लाख बजेट विनियोजन गरिएको छ । बझाङका अधिकांश योजनामा पनि ५ लाखका दरले बजेट विनियोजन गरिएको छ । सरकारले कैलालीका १४ सिँचाइका योजनाका लागि १ करोड ९३ लाख, बैतडीका २४ कुलो र पोखरीको योजनाका लागि १ करोड ८५ लाख, डोटीमा १ सय ५० कुलो र पोखरीका लागि १ करोड २० लाख बजेट विनियोजन गरेको छ । यस्तै, डडेल्धुरामा ८ सिँचाइ योजनाका लागि ४५ लाख र सिँचाइ योजना मर्मत सम्भार शीर्षकमा थप ६० लाखसहित १ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।
दार्चुलामा १८ सिँचाइ योजनामा ६२ लाख र सिँचाइ योजना मर्मत सम्भारमा थप ५४ लाखसहित १ करोड १६ लाख र सबैभन्दा कम बाजुरामा ९ सिँचाइ योजनाका लागि ४७ लाख बजेट छुट्याएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तटबन्धका टुक्रे योजनामा बजेट विनियोजन गरेजस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पनि सिँचाइका टुक्रे योजनामा ५ लाखका दरले बजेट विनियोजन गरेको पाइएको छ ।