काभा महिला भलिबल नेशनल लिगको भारतले हात पारेको छ । उपाधि भिडन्तको अन्तिम सेटमा घरेलु टोली नेपाललाई १५-५ ले पाखा लगाउँदै भारत उपाधि चुम्न सफल भएको हो । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बुधबार भएको उपाधि भिडन्तमा भारतले नेपाललाई ३-२ को सेटमा पराजित गरेको हो । नेपालले पहिलो सेट २५-२३ ले जिते हात पारेको थियो भने दोस्रो सेट १४-२५ ले गुमाउन पुगेको थियो ।
त्यसै गरी तेस्रो सेटमा पुनः नेपालले २५-२२ को जित हात पार्दा चौथो सेटमा भने भारतले २५-२१ के जित निकालेको थियो । त्यसपछि अन्तिम तथा पाँचौ सेट भारत १५-५ ले विजयी हुँदै उपाधि चुम्न सफल रह्यो ।
नेपाल इरानलाई हराउँदै उपाधि भिडन्तमा पुगेको थियो भने भारतले श्रीलङ्कालाई पाखा लगाउँदै नेपालसँगको भेट पक्का गरेको थियो ।
लिग चरणमा नेपालले भारतलाई ३-२ को सेटमा हराउँदै ऐतिहासिक निकालेको थियो । महिला भलिबलमा भारतमाथि नेपालको त्यो नै हाल सम्मको पहिलो जित थियो ।
यसअघि सन् २०१९ मा नेपालले १३ औँ दक्षिण एशियाली खेलकुद (साग) को उपाधि भिडन्तमा भारतसँग खेलेको थियो । त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा नेपाल भारतसँग ३-२ सेटमा पराजित हुँदै उपविजेता बनेको थियो ।
भारत अन्तर्राष्ट्रिय वरियतामा ६४ औं स्थानमा रहेको छ भने नेपाल वरियता विहीन छ । किनकि नेपालले हालसम्म धेरै अन्तर्राष्ट्रिय खेलहरू नै खेल्न पाएको छैन् ।


