
जोशीपुर : कैलाली जिल्लाको जोशीपुर गाउँपालिका अध्यक्ष र वडा अध्यक्षबीच विवाद भएको छ । पालिका अध्यक्षले बजेटमा एक गरेको आरोप वडा अध्यक्षले लगाएपछि विवाद चर्किएको हो ।


पालिका अध्यक्ष चित्रबहादुर चौधरी र वडा नम्बर ४ का वडाअध्यक्ष रामजनम चौधरीबीच बजेटको विषयमा विवाद भएको हो । वडाध्यक्ष रामजनम चौधरीले गाउँपालिकाको बजेटमा पालिका अध्यक्षले एकलौटी गरेको आरोप लगाएका छन् । उनले गाउँपालिकाको बजेट जनतामुखि नभएर कर्मचारीमुखी योजना बनाएको बताएका छन् । उनले भने, ‘म कार्यपालिका सदस्य पनि हो । भौतिक पूर्वाधार विकास समितिको संयोजक पनि हो । तर कुनै अधिकार छैन ।’
योजना छनौटमा पालिका अध्यक्षले मनोमानी गरेको उनको आरोप छ । वडाध्यक्ष चौधरीले गाउँपालिका अध्यक्षको स्वेच्छाचारिता बढेको भन्दै बुधबारदेखि कर्मचारीहरूलाई हाजिरी गर्नबाट रोक लगाएका छन् । वडाध्यक्ष चौधरीले वडामा ४४ लाख मात्र बजेट सिलिङ आएको र वडा नम्बर ४ को प्राथमिक स्वास्थ्य इकाइको प्रमुख परिवर्तन गर्दा समेत समन्वय नभएको दाबी गरे ।

उता गाउँपालिका अध्यक्ष चौधरीले वडाध्यक्षले बेकारको आरोप लगाएको दाबी गरेका छन् । उनले अहिले आएर विवाद गर्नुको कुनै औचित्य नभएको बताए । पालिका अध्यक्ष चौधरीले अहिले यसै विषयमा बैठक आह्वान गरिएको बताए । वडाअध्यक्ष रामजनमले पनि यसै विषयमा बैठक बोलाइएको बताए ।

वडाध्यक्ष र गाउँपालिका अध्यक्ष दुबै नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका हुन् । दुबै जनाको विवादले वडा कार्यालयको सेवा प्रभावित बन्न पुगेको छ । वडाध्यक्ष चौधरीलाई गाउँपालिकाको प्रवक्ता तथा पूर्वाधार विकास समितिको संयोजकको पनि जिम्मेवारी तोकिएको थियो । तर पालिका अध्यक्षसँग विवाद बढेपछि उनको सो जिम्मेवारी खोसिएको छ ।


