
कैलाली : एसीसी महिला एसिया कप २०२४ को उद्घाटन आजबाट श्रीलङ्कामा हुँदैछ । उद्घाटन खेलमा आज नेपालले युएईको सामना गर्दैछ । उक्त खेल श्रीलङ्कास्थित दाम्बुला क्रिकेट स्टेडियममा नेपाली समय अनुसार २ः१५ बजेदेखि सुरु हुने भएको छ ।


तयारीका लागि नेपाली टोली दुई साता अघि नै श्रीलङ्का पुगेको थियो । अभ्यास खेलमा नेपालले श्रीलङ्का विकास टोली विरुद्ध तीन खेल खेलेको थियो । जसमध्ये पहिलो दुई खेलमा हार बेहोरेको नेपाल तेस्रो तथा अन्तिम खेलमा जित हासिल गरेको थियो ।
नेपालले एसिया कपमा तेस्रो पटक सहभागिता जनाई रहेको छ । यसअघि नेपालले सन् २०१२ र २०१६ मा महिला एसिया कप खेलेको थियो । दुवै पटक नेपालले सबै खेलमा हार बेहोरेको थियो ।

समूह ए मा रहेको नेपालले पाकिस्तान विरुद्ध जुलाई २१ मा खेल्नेछ भने भारत विरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ ।

समूह बी मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड रहेका छन् । प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

गत फेब्रुअरीमा भएको एसीसी वुमन्स प्रिमियर कपको सेमिफाइनलमा मलेसियासँग पराजित भएको नेपाल श्रीलङ्कामा भएको एसिया कपमा स्थान पाउनबाट वञ्चित भएको थियो । प्रिमियर कपमा फाइनल खेलेका दुई टोली युएई र मलेसिया सिधै एसिया कपमा प्रवेश गरेका थिए ।

तर, एसिसीले आठ टोलीको प्रतियोगिता गरेको थियो । जसबाट थाइल्याण्ड र नेपाल छनोट भएका थिए ।

नेपाली टोली :
इन्दु वर्मा (कप्तान), रुविना क्षेत्री, सिता राना मगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) , पूजा महतो, डली भट्ट, विन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई, राजमती ऐरी