
काठमाण्डौ : सत्ता समीकरण परिवर्तन भएसँगै नेकपा एमाले र कांग्रेसको संयुक्त सरकार बनेको छ । जसमा सरकारको नेतृत्व एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरि रहेका छन् । आइतबार प्रधानमन्त्रीमा नियुक्त भएमा ओलीले आज पदभार ग्रहण गरेका छन् । ओली नेतृत्वको सरकारमा दुई उपप्रधानमन्त्रीसहित २१ मन्त्रीले पनि आजै शपथ लिएका छन् ।


कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनेका छन् । सिंहलाई सहरी विकास र पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिइएको छ । सिंह र पौडेल विगतमा पनि पटक पटक मन्त्री भएका व्यक्ति हुन् । कांग्रेसबाट प्रमुख सचेतक रहेका रमेश लेखकलाई गृह मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
नयाँ सरकारमा कांग्रेसकी आरजु राणा परराष्ट्रमन्त्री बनेकी छन् । त्यस्तै दीपक खड्का ऊर्जा, अजय चौरसिया कानुन, ऐनबहादुर शाही वनमन्त्री बनेका छन् । तेजुलाल चौधरीलाई युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी तोकिएको छ । कांग्रेसको शेखर कोइराला पक्षबाट स्वास्थ्यमन्त्रीमा प्रदीप पौडेल, पर्यटनमा बद्री पाण्डे र कृषिमा रामनाथ अधिकारीले जिम्मेवारी पाएका छन् ।

त्यसै गरि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बनेका छन् भने मधेशबाट राजकुमार गुप्तालाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मा दिइएको छ । त्यस्तै सोलुखुम्बुका सांसद मानवीर राई रक्षामन्त्री बनेका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा बलराम अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको जिम्मेवारी दामोदर भण्डारीले पाएका छन् । भण्डारी र अधिकारी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पनि सोही जिम्मेवारीमा थिए ।

त्यस्तै शिक्षामन्त्रीमा विद्या भट्टराई र देवेन्द्र दाहाल भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा छन् ।

त्यस्तै लोसपाबाट शरदसिंह भण्डारी श्रममन्त्री बनेका बन्दा जसपाबाट नवलकिशोर साह सुडी महिला बालबालिका तथा जेष्ठ नागरिक र प्रदीप यादव खानेपानी मन्त्री बनेका छन् ।

