
काठमाण्डौ : नेपालमा विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज दिउँसोसम्म २४ घण्टामा कास्कीमा ११, म्याग्दीमा दुई र चितवनमा एक जना गरी पहिरोमा परी १५ जनाको ज्यान गएको जानकारी प्राप्त भएको बताएका छन् ।


चितवनमा पहिरोसँगै त्रिशूली नदीमा दुई वटा बस बेपत्ता भएको घटना लगत्तै सिंहदरबारमा आज बसेको विपद्सम्बन्धी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सडक विभाग, यातायात व्यवसायीलगायत सम्बन्धित निकायसँग छलफल समेत भएको छ । दुई वटा रात्रि बस पहिरोले बगाएको र ती बसको खोजी कार्य भइरहेको पनि गृह सचिव अर्यालले जानकारी दिए । उनले बसमा कति जना यात्रु थिए भन्ने अहिलेसम्म पनि यकिन नभएको जानकारी दिए ।
बैठकले काठमाण्डौ बाहिर जाने र भित्रिने लामो तथा छोटो दुरीका गाडीमा टिकट अनिवार्य गर्ने निर्णय समेत गरेको छ ।




