काठमाण्डौ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई यही जुलाई १ देखि आउँदो डिसेम्बर ३१ सम्म ग्रेड ‘ए’ मा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको क्यानले जनाएको छ । लामिछानेले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट लिन सफल भएकोमा क्यानले यस्तो निर्णय गरेको जनाएको छ ।
नाबालिका बलात्कारको आरोप लागेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो । जिल्ला अदालत काठमाडौंले लामिछानेलाई दोषी ठहर गरेको थियो । उनले उक्त फैसला विरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए । उनलाई उच्च अदालतले सफाइ दिएपछि क्यानले उनी विरुद्धको निलम्बन फुकुवा गरेको थियो ।