कैलाली : कैलालीको घोडाघोडी नगरपालिका–५, डोकेबजार पाण्डौन सडकखण्ड अन्तर्गत शीतलपुर सडक निर्माण कार्यमा ढिलासुस्ती भएको छ । १४ महिनामा कालोपत्रे गरि सक्नुपर्ने सो सडकको लेबल मिलानका नाममा ठाउँ ठाउँमा माटो थुपारिएको छ ।
सडकबिचमा माटो थुपार्दा सर्वसाधारणलाई आवागमनमा समस्या भएको छ । ठेकेदारले निर्माण कार्यमा ढिलासुस्ती गरेपछि स्थानीयले हिलाम्मे सडकमा धान रोपेर दबाबसमेत दिएका छन । सडक हिलाम्मे बनेपछि सो सडक भएर गुड्ने सवारी साधनसमेत सडकमा जाम हुने, धकेलेर ओहोरदोहोर गराउनु पर्ने बाध्यता रहेको सवारी चालकहरुको गुनासो रहेको छ । प्रदेश सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०७९/८० मा १४ महिनामा निर्माण सम्पन्न गर्ने गरेर टेडी निर्माण कम्पनीले सडक निर्माणको जिम्मा पाएको थियो ।
२०८० वैशाखमा सम्झौता भएर २०८१ साउनमा निर्माण सक्ने गरी सुरुको वर्ष ३० लाख रुपियाँ बजेट खर्चिएको र चालु आर्थिक वर्षमा विनियोजन भएको ५० लाख रकममध्ये ४७ लाख रुपियाँ खर्च भएको जनाइएको छ । प्राविधिक दुर्गा अवस्थीले ५ करोड रुपियाँ लागतमा २.७ किलो मिटर कालोपत्रे गर्न ठेक्का सम्झौता भएको बताए । निर्माण कम्पनीले चालु आर्थिक वर्षमा आठ वटा होम पाइप राख्ने, साइडमा वाल लगाउने र बाटोको लेबल मिलानका लागि माटो पटान गर्ने काम अवस्थीले बताए । बर्षात सुरु भएपछि सो सडक कालोपत्रे निर्माणको काम रोकिएको छ ।


